महेन्द्रनगर – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि अहिले सबै दलका उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन ।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणम हेर्दा कञ्चनपुर-३ मा राप्रपाको साथ पाउदा समेत एमालेलाई सहज छैन । यहाँकोे भीमदत्त नगरपालिका,दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाको वडा ८ यो निर्वाचन क्षेत्रभित्र पर्दछन ।
गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा कांग्रेसले यो क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये २ प्रमुख र ३ उपप्रमुख जित्दै पहिलो दल बनेको छ । एमालेले एक मात्र पालिकाको प्रमुखमा जित हात पारेको छ । वडामा पनि कांग्रेस एमालेभन्दा धेरै अगाडि छ । यस क्षेत्रका कुल ३० वडामध्ये कांग्रेसले १४ वटा जितेको छ । दोस्रो हुने एमालेले ८ वटा जितेको छ । त्यस्तै, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान ३ वटा जित्दै तेस्रो बनेका छन् । नेकपा एकीकृत समाजवादीले र स्वतन्त्रले समान एक(एक वडा जितेका छन । भीमदत्त नगरपालिका (१३ का वडा अध्यक्ष झक्कास बोहरा स्वतन्त्रबाट विजयि भएपनि उनले पनि कांग्रेसलाई समर्थन गर्ने बताइसकेका छन ।
त्यसैगरी, वडागत मतमा पनि कांग्रेस एमालेभन्दा अगाडि नै छ । ३० वडाबाट कांग्रेसले २१ हजार ७ सय ७२ मत प्राप्त गरेको छ । एमाले १६ हजार १ सय १४ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै, राप्रपा ६ हजार ५ सय ३, माओवादी केन्द्र ५ हजार ९ सय ८१, समाजवादी ३ हजार १२ मत पाउँदै क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । राष्टिूय जनमोर्चाले १८ मत मात्र प्राप्त गरेको छ ।
आसन्न निर्वाचनमा यो क्षेत्रमा राप्रपा र एमालेबीच तालमेल भएको छ । राप्रपाले एमालेलाई केन्द्र र प्रदेश ‘ख’मा सघाउने र एमालेले राप्रपालाई प्रदेश ‘क’मा सघाउने गरी सहमति भएको छ । तर, राप्रपासँग चुनावी तालमेल हुँदा पनि एमालेलाई जित निकाल्न सजिलो देखिँदैन । स्थानीय निर्वाचनमा एमाले र राप्रपाले पाएको वडागत मत जोडेर गठबन्धनसँग तुलना गर्दा पनि एमाले कमजोर देखिन्छ । एमाले र राप्रपाको मत जोड्दा ३० हजार ७ सय ८३ मत हुन्छ । जुन गठबन्धनको भन्दा ८ हजार १ सय ६६ ले कम हो ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर ३ मा प्रत्यक्षतर्फ १२ जनाले उम्मेदवारी दिएका छन् । तर, मुख्य प्रतिस्पर्धा भने रमेश लेखक र निरु पालबीच नै हुने विश्लेषण गरिएको छ । लेखक सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुन् भने पाल नेकपा एमालेको तर्फबाट उम्मेदवार हुन । २०७४ को निर्वाचनमा भने एमालेका दीपक भट्टसँग २ सय ५८ को झिनो मतान्तरले पराजित भएका लेखक यसपटक बदला लिने दाउमा छन । बाम गठबन्धनका भट्टले २६ हजार ३ सय ६४ मत ल्याउँदा लेखकले २६ हजार १ सय ६ मत पाएका थिए । ‘त्यो बेला बाम गठबन्धनको पूर्वदेखी पश्चिम सम्म एउटा लहर नै थियो ।’ एमालेका एक जिल्ला स्तरीय नेताले भने(‘अहिले पार्टी फुटेको छ त्यो बेला साथमा भएको माओवादी कांग्रेससंग छ एमालेलाई सहज देखिदैन ।’त्यतिबेला माओवादीले एमालेलाई सहयोग गर्दा पनि लेखक थोरै मतले पराजित भएका थिए । यसपालि उनलाई माओवादी केन्द्र र समाजवादीको साथ छ । कांग्रेस भित्रका बागी उम्मेदवारले लेखकलाई खासै असर नगर्ने कांग्रेसका एक महाधीवेशन प्रतिनिधिले बताए । तैपनि उनलाई बागी उम्मेदवारले चुनौती थपिदिएका छन् । एमाले उम्मेदवार निरु पाललाई बागी उम्मेदवारको चुनौती त छैन । तर, एमालेको एउटा पंक्ति उनीसँग रुष्ट छ । टिकट वितरणमा असमानता भएको भन्दै उम्मेदवारका आकांक्षीहरू उनी विरुद्ध देखिएका छन । त्यो असन्तुष्टि निर्वाचनमा पोखिने आँकलन छ । त्योबाहेक पालका लागि पाँच दलीय गठबन्धनको चुनौती छँदैछ ।
लेखक आफूले नागरिकका मुद्धा उठाएकाले जित सुनिश्चित भएको दाबी गरेका छन । ‘मेरो एउटा मुद्दा त्रिदेशीय नाकाको हो त्यसका लागि महाकालीमा पुल बनिसकेको छ ।’ उनले भने ‘अब निर्वाचित भए दोधारा(चाँदनीमा सुख्खा बन्दरगाह बनाउ छु ।’ यता पालले एमालेले गरेका कामहरू नै आफ्नो जित्ने आधार भएको बताएकिछन । आफू संसदमा रहँदा आफ्नो क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनेदेखि विकास निर्माणको काममा आफूले सकेको गरेको उनको दाबी छ ।