पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

Published on

काठमाडौं । भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६।५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले सदरमुकामसहित अन्य पालिकाका, विद्यालय, सरकारी भवन र निजी घर क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो ।

जाजरकोटपछि दोस्रो क्षति व्यहोर्नु परेको बझाङमा सरकार तथा विभिन्न दातृसंस्थाको प्राविधिक र आर्थिक सहयोगमा पीडितको घाउमा मलमपट्टी लगाउने कार्यको थालनी भएको छ । पहिलो चरणमा घर बाहिर रहेका पीडितलाई अस्थायी बसोबासका लागि टहरा निर्माण गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्लाको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । भूकम्प अहिले पनि जानेक्रम जारी छ । हालसम्म आउँदा भूकम्पका सयौँ धक्का बझाङवासीले महसुस गरिसकेका छन् । गत सातामात्रै जिल्लाको पाराकाट्ने ठाउँलाई केन्द्रबिन्दु बनाई गएको चार रेक्टर स्केलको भूकम्पले थप त्रसित बनाएको स्थानीय बताउँछन् । अहिले अस्थायी टहराको सहयोगमा बझाङ तग्रिरहेको छ । भूकम्पपीडित हाल अस्थायी टहरामा बसिरहेका छन् । ती टहरा भूकम्प प्रतिरोधात्मक रहेका स्थानीय शिवराज उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार टहरा निर्माणमा सरकारी र गैरसरकारी संस्था लागिरहेका छन् । घर जीर्ण भएपछि अस्थायी टहरामा बस्न बाध्य भएको उहाँको भनाइ छ । “छिमेकीसँगै टहरामा बसिरहेका छौँ । धक्का प्रायजसो सधैँ महसुस भइरहेको छ । भत्केको घरमा डरत्रासमा बस्नुभन्दा अस्थायी टहरा नै अहिलेका लागि उपयुक्त विकल्प भएको छ”, उपाध्यायले भन्नुभयो । सरकारले तीन हजार, युनएनडिपी एक सय ३०, रेडक्रसले चार सय अस्थायी टहरा निर्माण गर्नेक्रममा रहेको जनाएको छ । त्यसमध्ये हालसम्म एघार सय ७८ निर्माण भई समुदायका पीडितलाई हस्तान्तरण भइसकेका छन् भने बाँकी निर्माणाधीन छन् । बझाङ जस्तापाता र काठको भरमा तङ्ग्रीन खोजिरहेको छ । हालसम्म एमपिडिएस डडेल्धुराले सेभ द चिल्ड्रेन सहयोगमा एक सय ३० अस्थायी आवास, दुई विद्यालयमा अस्थायी सिकाइ केन्द्र, पाँच विद्यालयमा शौचालय तथा खानेपानी मर्मत गरिरहेको परियोजना संयोजक त्रिभुवन बास्तोलाले बताउनुभयो । यसका साथै भूकम्पमापीडित गर्भवती तथा सुत्केरीलाई आवश्यकताका आधारमा आकस्मिक परामर्श तथा सहयोग पनि गरिएको उहाँले जानकारी दिनुभयो ।

अन्य संस्थाले पनि स्थानीय तह र जनप्रतिनिधिसँग समन्वय गरी सहयोग गरिरहेका छन् । जयपृथ्वी नगरपालिकामा मात्रै एमपिडिएस डडेल्धुरा, जिल्लास्थित प्रगतिशील युवा समाज, साइपाल विकास समाज, दलित सहयोग समाज, आइडिएस नेपाल, निड्स, युनिसेफ, केयर नेपाललगायत संस्थाले सहयोग गरिरहेका जनाइएको छ । गत असोज १६ मा गएको भूकम्पले सदरमुकाम क्षेत्र चैनपुर नजिकमा रहेका तीन विद्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । केही दिन विद्यालय बन्द गरी १५ दिनपश्चात् चौरमा राखेर पठनपाठ सुरु गरिएको बालविकास माविका प्रधानाध्यापक केशबहादुर खातीले जानकारी दिनुभयो । विद्यालयमा तीन वटा भवनमा ३० कोठा पूर्णरुपमा क्षति हुँदा विद्यार्थीलाई चौरमा राखेर पठनपाठन थालिएको उहाँले बताउनुभयो । “सुरुमा बालबालिका विद्यालय नै आउन मान्दैन थिए । विद्यालय भवन नै भत्किँदा उनीहरुमा त्रासको वातावरण छाएको थियो”, प्रधानाध्यापक खातीले भन्नुभयो, “अभिभावक पनि कुन बेला के हुने हो भन्ने पिरोलाका कारण बालबालिकालाई विद्यालय पठाउन मान्दैनथे । अहिले अस्थायी भवन बन्दा नियमित पढाइ सुरु भइरहेको छ ।”

उहाँका अनुसार कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा १५७ छात्रासहित २८४ विद्यार्थी अध्यनरत छन् । जिल्ला सदरमुकाम चैनपुर बजारबाट एक किलोमिटर मात्रै टाढा रहेकाले विद्यालयमा स्थानीय वडाका धेरै विद्यार्थी पढ्न आउने गरेका वडा नम्बर ४ का वडाध्यक्ष ईश्वरबहादुर खातीले बताउनुभयो । सिमलतोला, बस्ती, गोलाई, गडखेत गाउँका ४० बालबालिका बालविकास कक्षामा अध्ययन गर्न यस विद्यालयमा आउने गरेको बालविकासका शिक्षक केशरी जोशीले जानकारी दिनुभयो । बालविकास जस्तै बालमन्दिर आधारभूत, लुयटा आवि डिलवगर पूर्णरुपमा क्षति भएका थिए भने बाँकी रहेका विद्यालयमा पनि भूकम्पले क्षति पुर्याएको स्थानीय जनप्रतिनिधि बताउँछन् । समुदाय र घरपरिवारमा गएर भूकम्पसम्बन्धी सचेतामूलक अभियान थालनी गरेपछि नियमित कार्यमा पर्खेका जयपृथ्वी नगरपालिका(४ का वडाध्यक्ष ईश्वर खातीले बताउनुभयो ।

जिल्लाका करिब १० हजार बढी घरमा क्षति भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसमा दुई हजार ४४५ निजी घर पूर्णरुपमा क्षति भएका थिए भने छ हजार ८४ घर आंशिक क्षति पुर्याएको थियो । योसँगै सरकारी भवन एक सय २३ पूर्णरुपमा र एक सय ५२ आंशिकरुपमा क्षति भएको थियो । भूकम्पले एक जनाको ज्यान जानसका साथै दर्जनौँ मानिस घाइते भएका स्थानीय समाजसेवी विष्णु एयडीले बताउनुभयो । स्थानीय विस्तारै भूकम्पको त्रासबाट मुक्त हुन खोजिरहेका उहाँको भनाइ छ । मनोसमाजिक विमर्शताको तालिमसँगै भूकम्पसम्बन्धी जनचेतना फैलाउनु काम गरेपछि वातावरण सहज हुँदै गएको उहाँले बताउनुभयो । भूकम्प गएको पाँच महिना बित्दा पनि विद्यार्थीले राम्रोसँग पढ्न पाएका छैनन् भने अन्य सर्वसाधारण सुत्नका लागि अस्थायी टहरा प्रयोग गरिरहेका छन् । पुनःनिर्माणको पखाईमा रहेको बझाङमा अहिले सरकारी र गैरसरकारी तवरबाट पीडितको घाउमा मलमपट्टी लगाउने कार्य भइरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । भूकम्पबाट सबैभन्दा बढी क्षति जिल्ला सदरमुकाममा रहेको जयपृथ्वी नगरपालिकाले व्यर्होनु परेको थियो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...