संसदकाे क्यालेन्डर पहिलो गाँसमै ढुङ्गा !

Published on

काठमाडौं । सङ्घीय संसदको अधिवेशन प्रारम्भ भएको ठिक एक महिना पुगेको छ । तर पहिलो पटक क्यालेन्डर अभ्यासलाई सङ्घीय संसदको प्रयासमा पहिलो गाँसमै ढुङ्गा लागेको छ ।

लामो प्रयासपछि चालु हिउँदे अधिवेशनबाट सभाका कामलाई क्यालेन्डरमा व्यवस्थित गरिए पनि एक महिनामै क्यालेन्डर प्रभावित भएको छ । सत्ता समीकरण फेरिएसँगै दुवै सदनको क्यालेन्डर प्रभावित बनेको छ । साथै सभामा पेस भई छलफलका क्रममा रहेको वार्षिक बजेटको सिद्धान्त र प्राथमिकता कसरी अघि बढ्छ भन्नेमा अन्योल बढेको छ । विगतमा पहिलो संविधान सभाको क्यालेन्डर पनि राजनीतिक रूपमा प्रभावित भएको थियो । एक दर्जनभन्दा बढी संशोधन गरे पनि संविधान सभा क्यालेन्डरमा हिँड्न सकेको थिएन । सङ्घीय संसद पहिलो पटक क्यालेन्डरमा चलाउने प्रयास पनि एक महिनामै बिथोलिएको हो । सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनका कारण क्यालेन्डर धेरै प्रभावित भएको बताउनुभयो । सोमबारको बैठक स्थगितपछि घिमिरेले भन्नुभयो, “क्यालेन्डर त धेरै नै प्रभावित भयो । यसलाई अब कसरी अघि बढाउने भन्नेमा परामर्श हुन्छ । तीन दिनका लागि तय भएका बिजनेस अब व्यवस्थापन गर्नुपर्ने भएको छ ।”

सत्ता समीकरण परिवर्तन हुँदा सोमबारका लागि आह्वान गरिएका प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैका बैठक स्थगित भएका छन् । बैठक स्थगित हुँदा सोमबारको दैनिक कार्यसूची मात्र होइन प्रतिनिधि सभामा तीन दिनको क्यालेन्डर प्रभावित भएको छ । सोमबार प्रतिनिधि सभामा शून्य, विशेष समयसँगै राजनीतिक दलसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि स्वीकृत गर्ने कार्यसूची रहने क्यालेन्डरमा उल्लेख थियो । यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल प्रारम्भ गर्ने तय थियो । मङ्गलबार शून्य, विशेष समयमा सांसदले उठाएका प्रश्नमा मन्त्रीले जवाफ दिने कार्यतालिका थियो । साथै निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत हुने कार्यसूची थियो । विनियोजन विधेयकको छलफललाई निरन्तर राखिएको थियो ।

यस्तै फागुन २३ गते बुधबार लागि शून्य, विशेष समयसँगै राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संशोधनका लागि स्वीकृतको कार्यसूची थियो । यस्तै भन्सार विधेयक र विद्युत् व्यापार विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाउने कार्यतालिका थियो । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको छलफल निरन्तर हुने कार्यतालिकामा उल्लेख थियो । तर सोमबार बैठक स्थगित हुँदा तीन दिनकै तालिका प्रभावित भएको छ । नियमित तालिका प्रभावितसँगै निवर्तमान अर्थमन्त्री डा। प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता के हुने भन्ने पनि प्रश्न उठेको छ । राष्ट्रिय सभामा छलफल नै सुरु भइसकेको अवस्थामा मन्त्री परिवर्तन भएपछि नयाँ सरकारले पुरानै सिद्धान्त र प्राथमिकता स्वीकार गर्ने वा नयाँ ल्याउने भन्ने प्रश्न खडा भएको छ ।

सभामुख घिमिरे भने सिद्धान्त र प्राथमिकता सदनमा कसरी अघि बढ्ने भन्नेमा सरकारकै निर्णयमा निर्भर हुने बताउनुहुन्छ । घिमिरे भन्नुहुन्छ, “यसमा त सरकारको निर्णय के हुन्छ, त्यही अनुसार हुन्छ । मन्त्री परिवर्तन भएको अवस्थामा नयाँ ल्याउने पनि उहाँहरूकै अधिकार हो । पुरानै स्वीकार गरेर जाने पनि सरकारकै अधिकारको कुरा हो ।” आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार चैत १४ गतेभित्र सिद्धान्त र प्राथमिकताको छलफल सदनमा सकिनु पर्छ । उक्त समयसीमा अब तीन साता मात्र बाँकी छ । तीन दिनको कार्यतालिका प्रभावित भएपछि विधेयक र सरकारको सिद्धान्त र प्राथमिकताका लागि अब नयाँ प्राथमिकता तय हुनुपर्ने छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...