भेडाबाख्रामा पिपिआर रोकथाम गर्न अभियान

Published on

काठमाडौं । भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग रोकथामका लागि मधेस प्रदेशमा सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित सप्ताहव्यापी अभियान सुरु गरिएको छ ।

आज धनुषाको हंशपुर नगरपालिका(३ मलहनियामा आयोजित एक कार्यक्रमका बीच मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले खोप अभियान शुभारम्भ गर्नुभयो । त्यस अवसरमा मन्त्री न्यौपानेले भेडापालनलाई व्यावसायिक बनाई किसानको दिगो जीविकोपार्जनमा सघाउ पुग्ने गरी सरकारले आवश्यक कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सो व्यवसायलाई विविधिकरण गरी भेडाबाट मासु र राडिपाखी बनाउने उद्योग सञ्चालन गर्ने सोचसहित अगाडि बढ्ने किसानलाई सरकारको सहयोग रहनेसमेत बताउनुभयो । “जलवायु परिवर्तन, युवाहरुको पलायन र आधुनिक प्रविधिको अभावमा विशेषगरी भेडापालन व्यवसाय लोपोन्मुख अवस्थामा छ । त्यसको जगर्नेका लागि किसानहरु जागरुक भएमा आर्थिक तथा प्राविधक सहयोग गर्न सरकार तयार छ । यसमा तीनै तहका सरकारले समन्वय गरेर कार्यक्रम अगाडि बढाउन सकिन्छ”, मन्त्री न्यौपानेले भन्नुभयो ।

त्यस्तै हंशपुर नगरपालिका प्रमुख प्रदीपकुमार यादवले स्थानीय किसानका समस्या समाधान गर्न नगरपालिकाले प्रदेश सरकारसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले भेडा तथा बाख्रापालन जस्तो पुख्र्यौली पेसामा लागेका किसानलाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विशेष व्यवस्था गर्नेसमेत आश्वासन दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा।शरणकुमार पाण्डेले मधेस प्रदेशका आठ जिल्लाका सात लाख ९२ हजार भेडा तथा बाख्रामा खोपलगाउने लक्ष्यसहित अभियान सुरु गरिएको बताउनुभयो । डा।पाण्डेले मधेसका जिल्लामा ‘किसान पहिले’ भन्ने नीतिका साथ किसानको आवश्यकता पहिचान गरी अरु कार्यक्रम पनि अगाडि बढाउने तयारी भइरहेको र पहिलो चरणमा भेडा तथा बाख्रामा रोग नियन्त्रण गर्न खोप अभियान सुरु भएको जानकारी दिनुभयो ।

कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जीवकुमार ठाकुरले अभियानका क्रममा धनुषाका १८ वटै स्थानीय तहका ९३ हजार भेडा तथा बाख्रामा खोप लगाउने लक्ष्यसहित ६४ जना प्राविधिकलाई परिचालन गरिएको जानकारी दिनुभयो । त्यसैगरी गाईभैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि ५९ हजार चार सय गाई भैँसीमा खोप लगाउने अभियान पनि सँगसँगै चलिरहेको डा ठाकुरले बताउनुभयो । पिपिआर बाख्रा तथा भेडामा राख्ने एकप्रकारको महामारी रोग हो । यो रोग लागेपछि नाकबाट सिगान बग्ने, ज्वरो आउने, छेर्न, खोक्नेजस्ता समस्या आउने गर्छन् । अत्यधिक सङ्क्रामक यो रोग समयमै रोकथाम नगरिए एक सय वटामध्ये करिब ९० जतिको ज्यान जाने जोखिम रहेको र त्यो रोकथामको उपाय खोपमात्रै भएको डा ठाकुरको भनाइ छ । त्यस अवसरमा स्थानीय किसानले सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनको अभावमा पुख्र्यौली पेसा सङ्कटमा परेको भन्दै सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

हाल सवा दुई सय भेडापालन गरिरहनुभएका स्थानीय रामकिशोर राउत पालले सरकारले सहयोग गरेमा पुख्र्यौली पेसा संरक्षणका लागि थप उत्साहित भएर लाग्ने बताउनुभयो । “भेडा मुख्य गरी देउतालाई चढाउने हो । आम्दानी त राम्रै हुन्छ तर युवापुस्ता पलायन भइरहेको र पुरानो पुस्ताले आधुनिक प्रविधिको अभावमा धेरै लाभ लिने अवस्था नरहेकाले त्यो पेसालाई व्यावसायिकरुपमा निरन्तरता दिन सकिरहेका छैनौँ । यदि सरकारले गोठ व्यवस्थापन, औषधोपचार, चरिचरनका लागि घासको उन्नत बीउ, रौँबाट राडिपाखी बुन्ने आधुनिक मेसिन तथा प्रविधि सहयोग गरेमा हामी सङ्गठितरूपमै लाग्छौँ”, पालले भन्नुभयो । त्यस्तै स्थानीय किसान लालबिहाडी गरेडी पाल, सरोजकुमार पाललगायतले पनि खोर व्यवस्थापन, भेडाको रौँ र घाँस मुख्य समस्या रहेको बताउनुभयो । उहाँहरूले भेडापालनसम्बन्धी तालिमको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । रासस

ताजा समाचार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौं । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्...

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ(तराई(मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको...

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...