अन्नपूर्ण फेदीमा कूटनीतिज्ञको पदयात्रा

Published on

काठमाडौं । ७४ वर्षअघि मौरिस हर्जोगले अन्नपूर्ण हिमालको पहिलो आरोहण गर्नुभएको थियो । संसारमै आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो कीर्तिमान हर्जोगको रह्यो तर उहाँले दुवै हात र दुवै खुट्टा गुमाउनुपर्‍यो । हिउँले हातखुट्टा खाएपछि उहाँले कृत्रिम हातखुट्टा राख्नुपरेको थियो । यस्तो जोखिम मोलेर हर्जोगले गरेको आरोहण नेपालको पदयात्रा, पर्वतारोहण र पर्यटनका लागि भने कोसेढुङ्गा बनिदियो । उहाँको पुस्तक ‘अन्नपूर्ण’ प्रकाशनपछि विश्वभरका पर्वतारोहीले नेपाली हिमालबारे जान्ने मौका पाए । आइतबार बादल र तुँवालोले छेकिएको त्यही अन्नपूर्ण हिमालको फेदीमा राजदूतसहितका कूटनीतिज्ञहरूले पैदल यात्रा गर्नुभयो । हर्जोगको आरोहणको सम्झनामा बर्सेनि जुन ३ मा अन्नपूर्ण दिवस मनाउने गरिएको छ । दिवसकै छेकोमा कतै अरेली काँडामा अल्झिएका कपडा छुटाउँदै, जुत्तासम्म आइपुगेका जुका फाल्दै अन्नपूर्ण गाउँपालिकाको धम्पुसदेखि ह्याङ्जाकोट हुँदै पञ्चेबाजा पार्कसम्म विभिन्न राजदूत, दक्षिण एसियाली सहयोग सङ्गठन ९सार्क० का महासचिव, सञ्चारकर्मीसहित कूटनीतिज्ञहरूले यात्रा गर्नुभएको हो ।

नेपालका लागि बेलायतका राजदूत रोब फेनले बादल र तुँवालोले छेके पनि अन्नपूर्ण र माछापुच्छ«े हिमाल आश्चर्यजनक रूपमा सुन्दर भएको उल्लेख गर्नुभयो । लाङटाङ क्षेत्रको पदयात्रामा गरेको उल्लेख गर्दै उहाँले हिमालय शृङ्खला संसारकै मूल्यवान सम्पदा भएको धारणा राख्नुभयो । क्षितिजमा देखिएका बस्तीतिर औँल्याउँदै राजदूत फेनले भन्नुभयो, “तपाईंहरूसँग संसारकै बहुमूल्य सम्पदा छन् । जीवन बदल्ने कथाहरू छन्, तिनलाई विश्वभर पु¥याउनुहोस्, पर्यटकहरू लोभिएरै आइहाल्छन् । अन्नपूर्ण हिमालकै नामबाट कास्की र म्याग्दीका एक एक पालिकाको नाम राखिएको छ । राजदूत र विदेशी नियोगका उच्च पदस्थ अधिकारीलाई कास्कीको अन्नपूर्ण गाउँपालिकाको पदयात्रा गर्ने अवसर नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले जुराएको हो । कार्यालयले वार्षिक कार्यक्रमबमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाइरहेको छ ।

युएनडिपी नेपाल प्रमुख आइसाने मेडागोन्गोडा लावेले दोस्रो पटक पोखरा आउँदा उत्साहित भएको सुनाउनुभयो । उहाँले नेपाली नागरिकमा रहेको साधारणपना जोगाउन आग्रह गर्नुभयो । “प्रकृति, पर्यटन र नेपाललाई छुट्याउन मिल्दैन,” उहाँ भन्नुहुन्छ, “धेरै कर्मठ युवा यस्ता सुन्दर गाउँ छाडेर विदेश उडिरहेका छन् । पर्यटनबाट आयआर्जन हुने बाटो खोज्नु जरुरी छ ।” उहाँले नेपाली जनजीवन साधारण र विशिष्ट रहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “जटिल दुनियाँमा साधारण हुँदा धेरै कठिन छ । यही साधारणपन नै नेपालीको पहिचान बनेको छ ।” उहाँले यात्रामा भेटिएका महिलाहरूसँग गाउँको जीवन र आयआर्जनका बाटाबारे जानकारीसमेत लिनुभयो । स्वागत गर्दै गरेका स्थानीयको करेसाबारीबाट पुदिना टिपेर चपाउँदै युएसएआइडीका निमित्त निर्देशक जुडिथ अल्मोडोभरले अन्नपूर्ण फेदीको सुन्दरताले मोहित भएको उल्लेख गर्नुभयो । ठाउँ ठाउँमा रहेका चौतारीमा अतिथिहरूले विश्राम गर्दै त्यसको उपयोग र इतिहासबारे जानकारी लिनुभएको थियो । कोदो गोड्दै गरेका किसानको फोटो खिच्दै रमाएका अतिथिहरूले पञ्चेबाजामा नृत्यसमेत गरेका थिए ।

पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेल अन्नपूर्ण दिवस भव्य रूपमा मनाएर पर्यटन राजधानीको प्रवर्धन गर्न लागिएको बताउनुहुन्छ । “हाम्रो कार्यक्रमबाट विश्वले नै अन्नपूर्ण क्षेत्रलाई चिन्ने र गण्डकी प्रदेशको पर्यटन प्रवर्धन हुने अपेक्षा छ,” उहाँले भन्नुभयो, “आर्थिक सङ्कटका बेला कार्यक्रम गरी हामीले पर्यटन व्यवसायीमा उत्साह र ऊर्जासमेत भर्ने लक्ष्य लिएका छौँ । अन्नपूर्ण दिवसको मुख्य समारोहमा सहभागी हुन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसमेत पोखरा आइसक्नुभएको छ । सोमबारको समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरिसक्नुभएका तीन पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजम शेर्पा र लाक्पा डेन्डी शेर्पालाई सम्मान गरिने छ । उहाँहरूले आरोहणका आफ्ना अनुभवसमेत सहभागीलाई सुनाउनुहुने छ । नेपाल पर्वतारोहण सङ्घ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा जभाभाबी खनि सडकले पदयात्रा मार्गहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । “नेपालको पर्यटन जोगाउन पदयात्रा मार्ग संरक्षण गर्नै पर्छ,” उहाँले भन्नुभयो, “नभई नहुने ठाउँमा बाटो बनाऔँ तर बस्ती नै नभएका ठाउँमा बाटो बनाउन रोक्नै पर्छ । गोरखापत्र

ताजा समाचार

काठमाडौँ उपत्यकामा चहलपहल बढ्दै

काठमाडौँ – काठमाडौँ उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न...

वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने

काभ्रे- वीपी राजमार्गमा भोलिदेखि अनुमति प्राप्त सवारी साधनहरु चल्ने भएका छन् । बीपी राजमार्गमा ट्र्याक निर्माण...

भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते

बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका...

कांग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई...