विवादले रोकियो नारायणीमा ड्याम लगाउने काम

Published on

काठमाडौँ । राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक विवादका कारणले गर्दा भइरहेको काम रोकिएको मध्यविन्दु –२ का वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।

गत वर्षको असोज ११ र १२ गते नारायणीमा आएको बाढी ड्याम भत्काएर बस्तीमा छिर्दा मध्यविन्दुका वडा नं २, ४, ६, १२ र १५ का बस्ती डुवानमा परेका थिए । मानवीय क्षति नभए पनि उर्बरभूमि बगरमा परिणत भएको थियो । कैयौं घरपरिवार अहिलेसम्म पनि विस्थापित भएका छन् । नदी कटानले नन्दपुर, सीतापुर र धजाह बस्ती बढी जोखिममा छन् । डुवानबाट जोगाउन नारायणी नदी व्यवस्थापन आयोजना चितवनले झण्डै १० करोड रुपियाँ लागतमा नदी छिरेको स्थान बलघट्टामा ड्याम लगाउने काम गरिरहेको थियो । ड्याममा ग्याबिन तार जाली लगाउने, ठुला ढुंगा किनारमा हाल्ने, कङ्क्रिटका ब्लकसहित ड्याम बनाउने लगायत काम भइरहेको अवस्थामा एक्कासी फागुनसम्मका लागि काम रोकिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयले कांग्रेस र एमालेका केही नेताहरुको इगोका कारण काम अघि बढ्न नसकेको बताएका छन् । गत वर्षको बाढीले नसोचेको क्षति व्यहोरेको भन्दै यो ठाउँमा तत्काल बाँध नबाध्ने हो भने आगामी वर्षामा यसले झन ठुलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गत वर्षको बाढीबाट पीडित डिल्लीराम थनेत यस्ता कुरामा विवाद गर्दा आफूहरुलाई थप चिन्ता थपेको बताउनुभयो । अर्का स्थानीय नारायणप्रसाद थनेतले पनि वर्षा लाग्नु अघि नै ड्याम नबाध्ने हो भने तटीय क्षेत्र डुवानको मारमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । नारायणी नदी व्यवस्थापन आयोजनाले पनि विवादका कारण हाललाई ड्याम बनाउने काम रोकिएको बताएको छ । आयोजनाका डिभिजन ईन्जिनियर प्रकाश लम्सालले विवादका कारण कामलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।

निकुञ्जले दिएको म्याद सकिनु तीन दिनअघि स्थानीय केही व्यक्तिले धम्की दिएपछि काम रोकिएको मध्यविन्दु –२ का अध्यक्ष अधिकारीले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकारीले स्थलगत अवलोकन गरेर जागिरै खाने गरी धम्की आयो भनेपछि काम रोकेको अध्यक्ष अधिकारीको भनाइ छ । ‘‘वडा नं २, ६, १२ र १५ का जनता र उर्बरभूमि जोगाउनका लागि ड्याम लगाउन लागिएको हो, तर राष्ट्रिय खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव समेत रहेका स्थानीय श्रीधर शर्मा भट्टराईले एक्कासी अमलटारी पश्चिम सेक्टर र निकुञ्जमा फोन गरी धम्की दिएकाले काम रोकियो,’’ अध्यक्ष अधिकारीले भन्नुभयो, ‘‘जनताका लागि काम गर्दा अवरोध गर्नु अत्यन्तै निन्दनीय छ ।’’

सदस्य सचिव शर्माले भने नारायणी नदी नियन्त्रण गर्ने काममा भएको अवरोधमा आफ्नो संलग्नता नरहेको दावी गर्नुभएको छ । वडाध्यक्ष अधिकारीले आफूमाथि लगाएको आरोप भ्रामक भएको उहाँको दावी छ । चितवन राष्ट्रिय निकुञ्जले ‘चरा तथा गोहीको वासस्थान, विचरण तथा घाम ताप्ने ठाउँमा खलल नपार्ने र तोकिएको क्षेत्रबाहेक अन्यत्र कार्य नगर्ने तथा आवश्यक नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रभन्दा बाहिरबाट ल्याइ प्रयोग गर्ने र सो स्थानबाट नदीजन्य पदार्थ प्रयोग नगरी मंसिर २२ देखि माघ १५ भित्र निकुञ्ज कर्मचारी तथा सुरक्षाकर्मीको निगरानी र अनुगमनमा बिग बोल्डरसहित संरक्षण कार्य गर्ने’ भन्दै पत्र लेखेको थियो ।

दुबै पक्षको आपसी सहमतिमा फागुन लागे लगत्तै ड्याम बाध्ने काम हुने निकुञ्जका सूचना अधिकारी थापाले बताउनुभयो । कानुनी प्रक्रिया नमिलाई काम भएको भन्दै केही व्यक्तिले फोन गेर धम्की दिएको र अख्तियारमा जाने भन्ने कुरा पनि आएको रहेछ, त्यसैले हामीले सबैलाई सहज हुनेगरी जाने भनेर अहिले नारायणी किनारमा बिग बोल्डरको (ठूला ढुंगा बिच्छ्याउने) काम गर्ने तर ग्राभेल नगर्ने भनेका छौं’’ चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी थापा मगरले भन्नुभयो । स्थलगत अनुगमनपछि अमलटारी पश्चिम सेक्टरका संरक्षण अधिकृत मधु नेपालीले पार्टीगत रुपमा आपसी विवाद देखिएकाले काम हुन नसकेको बताउनुभयो । २०५८ सालमा पनि नारायणी नदी वस्तीमा पस्दा धजाह गाउँ नै बगाएको थियो । त्यतिखेर घरबारविहीन भएका १ सय २ घर परिवार स्थानीय हाल मध्यविन्दु नगरपालिका –६ र ७ का विभिन्न स्थानमा अव्यवस्थित रुपमा बसोबास गर्न बाध्य छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...