‘एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा लगाउँदा प्रभावकारी हुन्छ’

Published on

काठमाडौँ । ह्युमन प्यापिलोमा (एचपिभी) भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउँछन् । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने बताउनुभयो । मन्त्रालयले जारी गरेको भिडियो सन्देशमा बोल्नुहुँदै उहाँले १० देखि १४ वर्षका किशोरीले यो खोप छुटाउन नहुने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी खोप निकै प्रभावकारी हुन्छ ।”

नेपालमा हरेक दिन छ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुनुका साथै चार जनाको मृत्यु हुने तथ्याङ्कले देखाउँछ । डा. रिसालका अनुसार महिनावारी भएको समयमा यो खोप लगाउन मिल्छ । यो खोपले महिनावारीलाई कुनै असर नगर्ने डा।रिजाल बताउनुहुन्छ । यो खोपले बाँझोपन नगराउने डा।रिजालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो खोप विगत दुई दशक अघिदेखि प्रयोग भइरहेको छ । एचपिभी खोपले बाँझोपन गराउँदैन । एचपिभी खोप लगाएकाले बच्चा जन्माएका उदाहरण छन् । त्यसैले, ढुक्क भएर लगाउन म सबैमा आह्वान गर्न चाहन्छु ।” यो खोप नेपालमा प्रयोग गर्नका लागि औषधी व्यवस्था विभागबाट अनुमति प्राप्त हुनुका साथै, विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो ।

यो खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्कासँग लगाउन डा. रिजालको आग्रह छ । एचपिभी खोप लगाएपछि सामान्य लक्षण मात्र देखिने हुँदा निर्धक्क भएर लगाउन क्यान्सर रोग विशेषज्ञ डा. रश्मी पुन बताउनुहुन्छ । यो खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने जस्ता समान्य लक्षण देखिने जानकारी उहाँ दिनुभयो । उहाँका अनुसार यो खोप लगाउँदा अरू खोप लगाएको जस्तै सामान्य असरहरू देखिने र केही समयमा निको हुने गर्छ । यही माघ २२ देखि फागुन ६ गतेसम्म देशैभर एचपिभी खोप अभियान सञ्चालन हुँदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीलाई एचपिभी खोप दिने सरकारको लक्ष्य छ । किशोरीलाई स्वास्थ्य संस्था र बाह्य खोप केन्द्रबाट यो खोप सेवा दिइनेछ ।

सरकारले यो वर्षदेखि एचपिभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि कक्षा ६ का छात्राहरू र १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ । यसैगरी, कलाकार एवम् सामाजिक अभियन्ता मनीषा कोइरालाले पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित रहन हरेक किशोरीले एचपिभी। खोप लगाउनुपर्ने बताउनुभयो । नेपाल सरकार राष्ट्रिय खोप कार्यक्रमको सद्भावना दूतका साथै क्यान्सर केयर नेपालसँग आबद्ध रही क्यान्सरसम्बन्धी सचेतनाका काम गर्दै आउनुभएको कलाकार कोइरालाले प्रारम्भिक किशोरावस्थामै एचपिभी खोप लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...