काठमाडौँ । रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ । मधेश प्रदेश सरकारको मन्त्रीपरिषदबाट प्रादेशिक अस्पताल गौरलाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधामका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले बताउनुभयो । १०० शय्याको अस्पतालमा परिणत भएसँगै दरबन्दी थप हुने तथा उपकरणहरु जडान हुने भएकोले बिरामीलाई छिटो , सहज र गुणस्तरीय उपचार प्राप्त गर्न मद्दत पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महम्मद अनवर हासमिले बताउनु भयो । रौतहटबासीलाई हरेक साना उपचारमा पनि रिफर गर्नुपर्ने बाध्यता तथा गुणस्तरीय उपचारको लागि जिल्ला बाहिर जाने अवस्था कम हुने प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुर भन्नुहुन्छ । प्रादेशिक अस्पताल गौर रिफरल अस्पतालमा परिणत भएको तथा गुणस्तरीय उपचारको अभाव रहेको भन्दै जनगुनासो बढेको छ ।