काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई निजामतीमा १८ प्रतिशत कोटा छुट्टयाइएको बताउनुभएको छ । शुक्रबार लुम्बिनीको बुद्धभुमीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं सङ्घीय महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै लुम्बिनी सरकार आदिवासी जनजातिहरुको हितमा हुने गरी काम गर्दै आएको बताउनुभयो । लुम्बिनी सरकारले नेपालको कानुन अनुसार पूर्ण समावेशी ध्यान दिएर काम गरिरहेको समेत बताउनुभयो । आदिवासी जनजातिका मातृ भाषा, साहित्यको प्रवर्धनका लागि प्रदेश सरकारले लुम्बिनीका आदिवासी जनजाति थारु र मगरको भाषालाई सरकारी कामकाजि भाषा बनाउने तयारीमा रहेको बताउनुभयो । त्यसका लागि भाषा आयोग र सम्बन्धित समुदायका अगुवाहरुसंग छलफल भइरहेको समेत बताउनुभयो ।