युएईमा विद्यार्थीमाथि ठगी : विश्वविद्यालय भन्दै ट्युसन सेन्टरमा

Published on

काठमाडौं । उच्च शिक्षा अध्यननको नाममा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका विद्यार्थी ठगिएका छन् । नेपालबाट विभिन्न शैक्षिक परामर्श दातृ संस्थाबाट युएई पुगेका विद्यार्थी पढाइको अन्त्यमा प्रमाणपत्र नपाएपछि ठगिएको थाहा पाएका हुन् । 

हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सम्पर्कमा पुगेका ती विद्यार्थी सुरुमा यताका परामर्श व्यवसायीको सल्लाहमा युएईका विभिन्न शैक्षिक संस्थामा भर्ना हुन पुगेका थिए । यताबाट विश्वविद्यालयमा अध्ययन गर्न भनेर पुगेका विद्यार्थीलाई उता पुगेपछि सामान्य ट्युसन सेन्टर जस्तो संस्थामा भर्ना गर्ने गरिएको थियो । 

युएईमा ‘फ्री जोन’ भनिने त्यस्ता ठाउँमा सामान्य कोठा वा फ्ल्याट भाडामा लिएर पनि त्यस्ता संस्था खोल्न सकिने व्यवस्था छ । त्यस्तो संस्थामा नेपालकै केही परामर्श व्यवसायीको पनि लगानी हुन सक्ने भन्दै मन्त्रालयले छानबिन सुरु गरेको छ । शिक्षामन्त्री महावीर पुनले समेत नेपालकै परामर्श व्यवसायीको लगानीमा फ्री जोनमा ट्युसन सेन्टर जस्तै संस्था खोलेको दाबी गर्नुभयो । 

यसबारे थप अध्ययन भइरहेको मन्त्री पुनले बताउनुभयो । “नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनमा इन्स्टिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेजमा पढ्न विद्यार्थीहरूलाई दिनदिनै पठाइरहेको उजुरी आएको छ, त्यस्ता विद्यार्थीहरूले युएईमा दुःख पाइरहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदै छ । कोही पनि नफस्नुहोला,” उहाँले भन्नुभयो ।

मन्त्रालयका अनुसार दुबई पुगेर फर्केका केही विद्यार्थीले आफूहरू ठगिएको विषयमा सुरुमा परराष्ट्र मन्त्रालय र पछि शिक्षा मन्त्रालयमा पनि उजुरी गरेका थिए । परराष्ट्र मन्त्रालयबाट समेत पत्र आएपछि मन्त्री पुनले यसबारे अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउन सचिवलाई निर्देशन दिनुभएको थियो । 

मन्त्रालयका सचिव चूडामणि पौडेलले परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्र र विद्यार्थीका उजुरीलाई समेत ध्यानमा राखेर अध्ययन भइरहेको बताउनुभयो । उहाँका अनुसार युएईमा रहेको भनिएको शैक्षिक संस्थाबारे अध्ययन गरेर त्यस्ता संस्थामा जानका लागि वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्का गर्ने तयारी भइरहेको छ । 

साथै कागजपत्र अध्ययन गर्दा विद्यार्थीहरू ठगिएको पुष्टि भएमा नेपालबाट विद्यार्थी पठाउने परामर्श व्यवसायी तथा यसमा संलग्न अन्य संस्था तथा व्यक्तिमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिनुभयो । 

नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले पनि युएईमा अध्ययनका लागि भनेर गएका विद्यार्थी ठगिएको विषयमा आफूहरूलाई पनि जानकारी आएको बताउँदै यस्ता कार्यमा संलग्नलाई कारबाही गर्र्नुपर्ने बताउनुभयो तर युएईमा फ्री जोनमा स्थापना भएका सामान्य संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई मन्त्रालयले कसरी एनओसी दियो भन्ने विषयमा पनि गम्भीर छानबिन हुनुपर्ने उहाँ बताउनुहुन्छ । 

पछिल्लो समय मन्त्रालयले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई एनओसी वितरणमा निकै कडाइ गर्दै आएको छ तर इक्यान अध्यक्ष भट्टराईले प्रतिप्रश्न गर्दै भन्नुभयो, “विद्यार्थीलाई नै ठग्ने गरी स्थापना भएका शैक्षिक संस्थाको के कागजपत्र हेरेर मन्त्रालयले एनओसी दियो ?” 

युएईमा अध्ययनका लागि नेपाली विद्यार्थीहरूले सामान्यतया एउटा कोर्स अध्ययन पूरा गर्न सात लाख रुपियाँसम्म तिर्ने गरेका छन् । युएई अध्ययनमा जान चाहने विद्यार्थीका लागि मन्त्रालयले वार्षिक तीन हजार एनओसी जारी गर्ने गरेको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

साइँलाको ‘क्यानभासमा हिमाल’ चित्रकला प्रदर्शनी

काठमाडौं । चित्रकार भीम सुब्बा तामाङ (बाबु साइँला) ले गृह जिल्ला लमजुङमा एकल चित्रकला...

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ । सुन तोलामा...

नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा

काठमाडौं । घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको...

अण्डाको लागत मूल्य बढ्यो

काठमाडौं । अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि...