विराटनगरमा कपडा तस्कर घरमा प्रहरीको छापा, लाखौंको अवैध कपडा बरामद

Published on

काठमाडौं । मोरङ प्रहरीले कपडा तस्करीमा संलग्न एक व्यापारीको घरमा छापामारेर ठुलो परिमाणमा कपडा बरादम गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मङ्गलबार बिहान विराटनगरस्थित कपडा व्यापारीको घर र गोदाममा छापा मारेर लाखौं मूल्य बराबरको अवैध कपडा बरामद गरेको हो । प्रहरीको कारबाहीका क्रममा मुख्य कारोबारी बब्लु अग्रवाललाई भने प्रहरीले पक्राउ गर्न सकेन । कारोबारी अग्रवाल फरार भएको प्रहरीले जानकारी दिएको छ ।

विराटनगर एयरपोर्टबाट अनुसन्धान सुरु गरेर तस्करीमा संलग्न अग्रवालको घरसम्म पुग्न प्रहरी सफल भएको हो । जाडोका लागि भारतबाट भन्सार छली गरी ल्याइएका महँगा कुर्ता–सुरुवाल अग्रवालले काठमाडौँ पठाउने तयारी गरिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी टोलीले विराटनगर एयरपोर्टको कार्गो क्षेत्रमा छापा मार्दा ८९ थान ‘उनीयु’ ब्रान्डका कुर्ता–सुरुवालसहित दुई बोरा कपडा बरामद गरेको थियो ।

एयरपोर्टमा कपडा बरामद भएलगत्तै प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै विराटनगर–४, गणेशचोकस्थित बब्लु अग्रवालको निवास तथा गोदाममा प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली परिचालन गरेको थियो । घर र गोदाममा गरिएको खानतलासीका क्रममा थप ४५ थान उस्तै प्रकारका कुर्ता–सुरुवाल फेला परेको मोरङ प्रहरीले जनाएको छ। बरामद भएका कपडाको बजार मूल्य प्रतिथान चारदेखि पाँच हजार रुपियाँ पर्ने अनुमान छ, जसअनुसार कुल बरामद कपडाको मूल्य लाखौंमा पुग्ने देखिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट बब्लु अग्रवाल लामो समयदेखि भारतको जोगबनीबाट भन्सार छलेर लत्ताकपडा नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको खुलेको छ । अग्रवालले मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रबाट ‘क्यारिङ’ गराएर अवैध रुपमा कपडा विराटनगर ल्याउने गरेको पाइएको छ । विराटनगर–५ मा रहेको अग्रवालको उनको पसल ‘माँ दुर्गा इम्पेरियल’ र बगरगाछीमा रहेको अर्को पसलबाट ती कपडाहरू बिक्री वितरण हुने गरेको थियो । काठमाडौँलगायतका ठुला बजारमा कपडा पठाउँदा अग्रवालले आफ्नै पसलको बिल प्रयोग गरी अवैध सामानलाई वैधानिक देखाउने गरेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले फरार अग्रवालको खोजीका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिनुभएको छ ।

उहाँले भन्सार छली र अवैध तस्करी नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाइरहेको र कुनै पनि अवैध गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । प्रहरीले कपडा ओसारपसारमा प्रयोग भएको एउटा गाडीलाई समेत नियन्त्रणमा लिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...