नक्कली छोरी बनेर पुख्र्यौली सम्पत्ति कब्जाको प्रयास

Published on

काठमाडौं । सरकारी अड्डा अदालत धाउँदाधाउँदै न्याय नपाएपछि रुपन्देहीको सिद्धार्थनगर–६ का सन्त मल्लाह र लालजित मल्लाह निराश बन्नुभएको छ । प्रमाण जुटाउँदै धाउँदै गर्दा पाँच वर्ष बितिसक्दा पनि सुनुवाइ नहुँदा उहाँहरूको भरोसा कमजोर हुँदै गएको छ । चप्पल च्यापेर, काँधमा झोला बोकेर कार्यालय धाउने उहाँहरूलाई न कर्मचारीले टेर्छन्, न गुनासो नै सुन्ने गर्छन् । दाजुभाइलाई पुख्र्यौली सम्पत्तिमा कानुनी अडचन नहुने विश्वास थियो । सुखु मल्लाहका सन्तान नभएकाले उहाँका दाजु फौदारका छोराहरू सन्त र लालजित नै हकदार हुनेमा परिवार ढुक्क थियो । अदालतले समेत सुखुको सम्पत्ति उहाँहरूको नाममा गरिदिएको थियो । अचानक भारतीय नागरिक बदल मल्लाहका छोरी मालती र रिखीदेवी मल्लाहले आफूहरू सुखुकी छोरी भन्दै दाबी गरेपछि दाजुभाइको शान्त जीवन अस्तव्यस्त भयो । परिवारका अनुसार सुखु मल्लाह निःसन्तान हुनुहुन्थ्यो तर मालती–रिखीदेवीले छोरीको हकदाबी गर्दै कार्यालय तथा जनप्रतिनिधिको मिलेमतोमा सम्पत्ति हत्याउन खोजेको आरोप दाजुभाइको छ । 

सन्त र लालजितले मालती–रिखीदेवी आफूहरूको परिवारसँग कुनै नाता नभएको प्रमाण जिल्ला प्रशासन र अदालतमा बुझाइसक्नुभएको छ । उहाँहरूले विवाद टुङ्ग्याउन डिएनए परीक्षणको माग पनि गर्नुभएको छ तर न अदालतले सुनुवाइ गरेको छ, न प्रशासनले अग्रसरता देखाएको छ । २०७७ सालमा बुवाको मृत्यु भएपछि दाजुभाइ सम्पत्ति जोगाउन निरन्तर दौडधुपमा छन् । गुजारा चलाउन अहिले उहाँहरू अटोरिक्सा चलाउनुहुन्छ । स्वास्थ्य कमजोर रहेका सन्तले २०६८ सालमा निमोनिया भएपछि क्षयरोगको औषधी सेवनपछि फोक्सोमा असर परेको बताउनुभयो । फौदारका दुई छोरा र पाँच छोरी भए पनि काका सुखु र काकी कवुतरी सन्तानविहीन हुनुहुन्थ्यो । दाजुभाइले नै काकाकाकीको उपचारदेखि अन्तिम संस्कारसम्मका सबै काम गरेका थिए । उहाँका अनुसार काकाकाकी बाचुन्जेल कसैले छोरी भनेर दाबी गरेन तर उनीहरू बितेको केही समयमै मालती र रिखीदेवी छोरी भएर देखा परे । लालजित र सन्तले काकाको सम्पत्ति आफ्नो नाममा गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि तत्कालीन न्यायाधीश लीलाराज अधिकारीले २०७८ कात्तिक १५ गते जमिन उनीहरूको नाममा जाने फैसला सुनाउनुभएको थियो ।त्यसपछि अंशबन्डा गरेलगत्तै २०७८ साल फागुन १० मा अदालतले अंश मुद्दाको म्याद पठायो । त्यही बेला मात्र रिखीदेवी र मालतीले अंश दाबी गरेको तथ्य दाजुभाइलाई थाहा भयो ।

रिखीदेवीले आफू सुखुको पहिलो श्रीमती कवुतरीबाट जन्मिएको तथा मालतीले दोस्रो श्रीमती फूलझरीकी छोरी भएको दाबी गर्नुभएको छ । उहाँहरूले सुखुको मृत्यु दर्ता गराउन वडा कार्यालयमा आग्रह गरे पनि वडा कार्यालयले प्रमाण नपुगेकाले दर्ता अस्वीकार गरेको थियो । त्यसपछि उहाँहरूले उच्च अदालत बुटवलमा मुद्दा दायर गर्नुभयो तर अदालतले मालतीको जन्ममिति र बाबु दाबी गरिएको व्यक्तिको उमेर मिलेन भन्दै र रिखीदेवीको दाबी पनि प्रमाणविहीन देखिएको भन्दै २०७८ माघ ५ गते रिट नै खारेज गरिदिएको थियो । त्यसपछि रिखीदेवीले पुनः जिल्ला अदालतमा लालजित–सन्तको नाममा गएको जमिन आफ्नो नाममा ल्याउन माग गर्दै मुद्दा हाल्नुभएको छ । दाजुभाइले यो निर्णयविरुद्ध उच्च अदालतमा गए पनि जिल्ला अदालतकै फैसला सदर भयो । वर्साौंदेखि दाजुभाइ मालती र रिखीदेवी सुखुकी छोरी नभएको तथ्य प्रमाणित गरिदिन माग गर्दै दौडिरहेका छन् । २०८० कात्तिक ७ गते गरिएको स्थलगत सर्जमिन प्रतिवेदनमा समेत सुखु मल्लाह सन्तानविहीन रहेको उल्लेख छ तर जिल्ला प्रशासनले अझै पनि उक्त तथ्य प्रमाणित गर्न तयार छैन । डिएनए परीक्षणको मागसमेत बेवास्ता हुँदै आएको दाजुभाइको गुनासो छ । 

अहिले दाजुभाइले रिखीदेवी–मालतीविरुद्ध अंश नामसारी खारेज तथा जालसाजी मुद्दा जिल्ला अदालतमा दर्ता गराएका छन् । सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा पनि झुटो विवरणका आधारमा बनाइएको नागरिकता खारेज गरिदिन निवेदन दिएका छन् । जिल्ला प्रशासन पुगेका दाजुभाइलाई प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले मुद्दाको फाइल झिकाएर अध्ययन गर्ने र त्यसपछि सकेसम्म आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मादी नदी किनारमा बेवारिसे शव

काठमाडौं । तनहुँको व्यास नगरपालिका –५, माथिल्लो पाटनस्थित मादी नदीको किनारमा एक महिलाकोे बेवारिसे...

प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन

काठमाडौं । गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद्...

कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ...

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म

काठमाडौं । नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी...