काठमाडौं । टाई–सुट लगाएर गाडी चढ्ने, सरासर खेतबारी पुग्ने, त्यहीँ पोशाक फेरेर माटोसँग खेल्ने, पसिना बगाउने र काम सकेपछि फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाने दृश्य धेरैका लागि अझै पनि अनौठो लाग्न सक्छ। किनकि हाम्रो समाजमा किसान भन्नेबित्तिकै अझै पनि झुत्रेझाम्रे, दुःखी र संघर्षरत जीवनशैलीको छवि बलियो छ। कृषि पेसालाई पढे–लेखेका युवाले अन्तिम विकल्पका रूपमा मात्र रोज्ने सोच पनि गहिरोसँग गाडिएको छ। तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै कल्पनाको दृश्य होइन, बरु कृषिको आधुनिक, सम्मानजनक र सम्भावनायुक्त भविष्यको स्पष्ट चित्र हो। सचेतता कृषि सहकारी संस्थाका संस्थापक थापा लामो समयदेखि किसानलाई हेर्ने परम्परागत सोचलाई चुनौती दिँदै आउनुभएको छ। उहाँको विश्वास छ—किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीभन्दा कम हुनुहुँदैन। “कृषि बाध्यताको पेसा होइन, गर्वको पेसा बन्नुपर्छ,” उहाँ भन्नुहुन्छ, “माटोसँग जोडिनु कमजोरी होइन, आत्मनिर्भरता र स्वाभिमानको प्रतीक हो।” यही दृष्टिकोणसहित उहाँ कृषिलाई व्यवसायिक र प्रविधिमैत्री बनाउने यात्रामा लाग्नुभएको छ, जसको मूर्त रूप हो—सचेतता कृषि सहकारी।
युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्ने र आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता गरिएको हो। सङ्घीयता कार्यान्वयनपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको दाबी उहाँको छ। सहकारीलाई यसको मर्म, मूल्य र सिद्धान्तअनुसार अघि बढाउनुपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्छ। कृषि सहकारी भनिए पनि धेरै संस्थाहरू बचत तथा ऋणमै सीमित रहेको भन्दै उहाँ असन्तुष्टि जनाउनुहुन्छ। “सहकारीको आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ,” उहाँको भनाइ छ। झण्डै दुई दशकदेखि हिमाल, पहाड र तराईका विभिन्न जिल्लामा किसान, कृषि प्रणाली र प्रविधिसँग काम गरेको अनुभव लोकेन्द्र थापासँग छ। यही अनुभवले उहाँलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो—यति धेरै सम्भावना हुँदाहुँदै पनि किन युवा कृषिबाट टाढिँदै गए? किन किसानलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन? यी प्रश्नको उत्तर खोज्ने क्रममा उहाँले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र प्रविधियुक्त कृषिको अवधारणा विकास गर्न थाल्नुभयो। कोभिड–१९ को बन्दाबन्दीले त्यो सोचलाई व्यवहारमा उतार्ने अवसर दियो। २०७६ चैत ११ पछि सहरमा तरकारीको अभाव देखिन थालेपछि चैत १५ गते बिहान घरको कौशीमा उभिँदा उहाँको मनमा एउटा स्पष्ट विचार आयो—अब यो कौशी खाली राख्ने होइन। सुरुवात सजिलो थिएन। कौशीखेतीप्रति धेरैले हाँसे, अविश्वास गरे। तर उहाँले आफ्नै कौशीबाट प्रयोग सुरु गर्नुभयो। कृषि विज्ञसँग सल्लाह लिनुभयो, अध्ययन गर्नुभयो र माटो, मल, पानी व्यवस्थापनमा निरन्तर प्रयोग गर्न थाल्नुभयो। असफलता पनि आयो—बिरुवा मर्ने, किराको समस्या, अत्यधिक गर्मी। तर ती असफलताले उहाँलाई रोक्न सकेनन्। बाँचिरहेका बिरुवाबाट नयाँ बिरुवा उत्पादन गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने क्रम जारी रह्यो। केही समयपछि कौशी हरियालीले ढाकियो। आफ्नै कौशीमा उत्पादन भएको तरकारी भान्सामा पुग्दा त्यो केवल तरकारी मात्र थिएन, त्यो आत्मनिर्भरता र आत्मसम्मानको स्वाद थियो।
तीन महिनाभित्रै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थाल्यो। छिमेकी र बाटो हिँड्ने मानिसहरू रोकिएर जिज्ञासा राख्न थाले—कसरी सम्भव भयो? कति खर्च लाग्यो? हामीले पनि गर्न सक्छौँ? यसरी लोकेन्द्रको कौशी सहरभित्र कृषि सम्भावनाबारे संवादको केन्द्र बन्दै गयो। यो अनुभवलाई व्यक्तिगत सीमामा मात्र नराख्ने सोचबाटै सचेतता कृषि सहकारीको अवधारणा जन्मिएको हो। हाल उहाँ आफ्नै घरको छत र थोरै जग्गामा विभिन्न तरकारी उत्पादन गर्दै हुनुहुन्छ। कौशीखेती गर्न चाहनेलाई निःशुल्क तालिम दिनुहुन्छ, थोपा सिँचाइजस्ता प्रविधि व्यावहारिक रूपमा सिकाउनुहुन्छ। “सीप बाँड्न सके मात्र सामूहिक परिवर्तन सम्भव हुन्छ,” उहाँको विश्वास छ। भारतबाट आयात हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भइरहेकोप्रति उहाँ चिन्तित हुनुहुन्छ। “कसैको भान्सामा विषादी नपुगोस् भन्ने मेरो चाहना हो,” उहाँ भन्नुहुन्छ। यही उद्देश्यका साथ सहकारीमार्फत उत्पादन र उपभोगलाई जोड्ने प्रयास भइरहेको छ। हाल सहकारीमा करिब १५० जना शेयर सदस्य आबद्ध छन्। उन्नत बीउको उपलब्धता, कृषि क्यालेन्डरको ज्ञान अभाव, प्रविधिसँग अपरिचितता र कृषिप्रतिको नकारात्मक सामाजिक दृष्टिकोणलाई उहाँ आधुनिक कृषिका मुख्य चुनौतीका रूपमा देख्नुहुन्छ। तर यी चुनौती नै अवसर बन्न सक्ने उहाँको विश्वास छ। कृषि केवल उत्पादनको माध्यम होइन, माटो र बिरुवासँगको सम्बन्धले मानसिक तथा शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उहाँ बताउनुहुन्छ।
कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा ‘करेसाबारी’ पाठ समावेश हुनु कृषि शिक्षाप्रति बढ्दो चासोको संकेत भएको उहाँको धारणा छ। विराटनगरका विभिन्न विद्यालयसँग कौशीखेतीबारे छलफल अघि बढ्दै गएको पनि उहाँ बताउनुहुन्छ। लोकेन्द्र थापाको सपना सरल तर गहिरो छ—जब कुनै युवाले टाई–सुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र कृषिलाई भविष्यको सम्मानजनक पेसाका रूपमा रोज्ने प्रेरणा पाओस्। विराटनगरबाट सुरु भएको यो सोच आज माटो, प्रविधि र सम्मानलाई एउटै धरातलमा उभ्याउँदै कृषिको नयाँ कथा लेख्दैछ। गोरखापत्र

