बन्दीपुरमा पर्यटन प्रवर्धनका लागि एक हजार कलाकारको कौरा प्रदर्शन

Published on

काठमाडौं । पहाडकी रानी भनेर चिनिने पर्यटकीय नगरी बन्दीपुरले नेपाली सांस्कृतिक इतिहासमै सुनौलो अक्षरले लेखिने एउटा क्षण सिर्जना गरेको छ । ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को समापन तथा तमु ल्होसार पर्वको पावन अवसर पारेर बन्दीपुरको टुँडिखेलमा एक हजारभन्दा बढी कलाकारले एउटै ताल, एउटै मञ्चबाट कौरा (चुड्का) नृत्य प्रस्तुत गर्दै सम्भावित विश्व कीर्तिमानको ढोका ढकढक्याएका छन् । ‘हाम्रो कौरा, कौराको उद्गमस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने नाराले गुन्जिएको मैदानमा जब रङ्गीन भेषभूषामा सजिएका कलाकारहरू एकैसाथ लयमा नृत्य प्रस्तुत गरेका थिए । यो दृश्यले कौरालाई स्थानीय सीमाभन्दा बाहिर विश्व संस्कृतिको मञ्चमा उभ्याउने ऐतिहासिक आधार निर्माण गरेको सहभागीहरूको भनाइ छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस कीर्तिमानी प्रदर्शनले बन्दीपुरको पर्यटन विकासमा नयाँ युगको सुरुवात गरेको बताउनुभयो । प्राकृतिक सौन्दर्यसँगै मौलिक संस्कृति जोडेर विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गाउँपालिकाको दीर्घकालीन लक्ष्य यस कार्यक्रमले थप मजबुत बनाएको उहाँको भनाइ थियो । गुरुङ, मगर, कुमाल, दरै, बाहुन–क्षेत्री, नेवारलगायत विभिन्न समुदायका कलाकारहरू आ–आफ्नो जातीय पहिचान झल्किने मौलिक पोसाकमा सजिएर एउटै मञ्चमा उभिँदा विविधताभित्रको एकता र नेपाली सांस्कृतिक आत्माको अद्भुत प्रतिविम्ब देखिएको थियो । सम्पदा नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक  हरिसिं गुरुङले यो सामूहिक कौरा प्रदर्शन तनहुँको सांस्कृतिक इतिहासमै अहिलेसम्मकै सबैभन्दा विशाल र कीर्तिमानी उपलब्धि भएको बताउनुभयो । यसलाई औपचारिक रूपमा विश्व कीर्तिमानमा दर्ता गराउने प्रक्रिया अगाडि बढाइने जानकारी उहाँले दिनुभयो । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैसबहादुर गुरुङले कौरालाई विश्वमाझ चिनाउँदै बन्दीपुरलाई अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले यो ऐतिहासिक पहल गरिएको उल्लेख गर्नुभयो । यस्तै, दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले “बन्दीपुरमा आज कौराको इतिहास रचिएको छ” भनी टिप्पणी गर्नुभयो । यस महाअभियानमा आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयका गरी ६२८ जना विद्यार्थीले कौरा नृत्यमा सहभागिता जनाएको उहाँले जानकारी दिनुभयो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागत तथा भ्रमण वर्षको समापनलाई लक्षित तीनदिने महोत्सव पुस १७ गतेसम्म चल्नेछ । पुस १५ गते कीर्तिमानी कौरा प्रदर्शन सम्पन्न भइसकेको छ भने पुस १६ गते भव्य सडक खाना महोत्सव तथा भ्रमण वर्षको औपचारिक समापन समारोह आयोजना हुनेछ । पुस १७ गते विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित नयाँ वर्ष २०२६ को उल्लासपूर्ण स्वागत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...