बाँकेको पूर्वी क्षेत्रमा बाघ र चितुवाको आतङ्क

Published on

काठमाडौं । बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केही दिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभीत बनेका हुन् । केहीदिन अघि बाँकेको राप्ती सोनारी–१ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको थियो । त्यसको केही दिनपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने सुर्खेतको सीमावर्ती क्षेत्रमा एक जना र बाँके राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्र सल्यानको कालिमाटी गाउँपालिकामा २ जनाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो ।

ती घटनापछि राप्ती सोनारीका विभिन्न ठाउँमा बाघ र चितुवाको त्रास बढ्दै गएको स्थानीयले जनाएका छन् । राप्ती सोनारी–१ खोकरीका स्थानीय कृष्ण चौधरीका अनुसार शनिबार पनि बाँकेको सीमाक्षेत्र रहेको दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँको उत्तरतर्फ रहेको राप्ती बगरको नर्सरीमा पाटेबाघ देखापरेको छ । पाटेबाघ लुकेको नर्सरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमिलियादेखी राप्तीपारि क्षेत्र हो । नर्सरीमा पाटेबाघ लुकेको स्थानीय बासिन्दाले देखेको चौधरीले बताउनुभएको छ । सोही प्रकारले राप्ती सोनारी–१ बर्दापुरका स्थानीय बासिन्दा रुद्र ओलीका अनुसार पाटेबाघ गाउँ नजिकैको वन, जङ्गलमा निरन्तर देखा परिरहेको छ । दिनहुँजसो बाघ देखा पर्न थालेपछि स्थानीय बासिन्दाहरु भयभीत र आतङ्कित बनेको उहाँले बताउनुभयो । बाघ र चितुवाको सम्भावित खतराबाट बच्न स्थानीय बासिन्दाले झाडी, बुट्यान सफाइ गरेका छन् । जिल्लाको पूर्वी क्षेत्रमा वन्यजन्तुको आतङ्क बढेसँगै बाँके राष्ट्रिय निकुञ्जले निगरानी बढाएको जनाएको छ । निकुञ्जका प्रमुख एवम् वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले स्थानीय बासिन्दाबाट बाघ र चितुवा गाउँ नजिक आएको सूचना प्राप्त हुनासाथ त्यस क्षेत्रमा गस्ती र निगरानी बढाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले बाघको आक्रमणबाट मरिचमान भण्डारीको मृत्यु भएको स्थानमा क्यामेरा राखेर निगरानी गरिरहेका छौं, यद्यपि अहिले बाघ उक्त स्थानमा देखिएको छैन, पूर्वी क्षेत्रमा बाघ र चितुवा बस्ती नजिक आइरहेको भन्ने जानकारी आएपछि हामीले त्यतातिर पनि सुरक्षा निगरानी केन्द्रित गरेका छौं ।’’ गाउँबस्ती नजिकै हिंस्रक वन्यजन्तुको बाक्लो उपस्थिति देखिएकाले निकुञ्ज कार्यालयले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन विभिन्न माध्यमबाट सचेत गरिरहेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ...

दमकमा अस्थायी हेलिप्याड र हवाई गस्तीको तयारी

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका हेरिएको झापाको क्षेत्र नं.५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...

अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ गते हुने निर्वाचनको लागि स्वास्थ्य...

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको...