हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

Published on

काठमाडौं । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसर  सुनसान बनेको हो । भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारी साधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएर अवरुद्ध सडक खुलाउन पहल गरे पनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो ।

 मुक्तिनाथ जाने कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोट लगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । यसैगरी हिमपातपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पर्यटकको आगमनमा समस्या र चुनौती थपिएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । हिमपात अघि दैनिक ५०० भन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित ज्यादै नगण्य रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । कागबेनी—मुक्तिनाथ अवरुद्ध सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित रहने व्यवस्थापक भुसालले बताउनुभयो । मङ्गलबार रातिको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातका कारण वारागुङ मुक्तिक्षेत्रमा पर्ने झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायतका गाउँ पूरै हिउँले सेताम्मे भएका छन् । मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा  पूरै हिउँ जमेका कारण यहाँ जसोतसो दर्शन गर्न आएका भक्तजनलाई पनि स्नान गर्न र मन्दिरको दर्शन गर्न कार्यमा बाधा अवरोध पुर्‍याएको जनाइएको छ । हिमपातपछि चिसो अत्यधिक बढेकाले दर्शनार्थीलाईसमेत लेंक लाग्न सक्ने जोखिम रहेको छ ।

मुस्ताङमा भारी हिमपात भएपछि बुधबारदेखि कागबेनी—कोरला र मुक्तिनाथ सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म सडकमा दुई फिट बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको जानकारी दिनुभयो । हिमपातका कारण सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने दर्शनार्थी बुधबार बिहानैदेखि कागबेनीमै रोकिएको उल्लेख गर्नुभयो । यसैगरी मौसम खुलेमा कागबेनी—सडक हिउँ पग्लिएर सञ्चालनमा आउन सक्ने प्रहरी निरीक्षक बस्यालको भनाइ छ । हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...