काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । ‘भ्रष्टाचार मुक्त समाज, सुशासन, विकास र समृद्धिका लागि हाम्रो अभियान’ भन्ने मूल नारासहित विष्टले एक औपचारिक कार्यक्रमका बीच आफ्ना विकासका योजना तथा सङ्कल्पहरू सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुशासनलाई उच्च प्राथमिकता दिँदै नेपालगञ्जलाई भ्रष्टाचार मुक्त क्षेत्र घोषणा गर्ने, शून्य सहनशीलताको नीति लिने र सेवा प्रवाहमा प्रविधिमा आधारित पारदर्शी प्रणाली लागू गर्ने उल्लेख गरिएको छ । पूर्वाधार विकासतर्फ नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गर्ने, नेपालगञ्ज–जमुनाहा सडकलाई अन्तर्राष्ट्रिय पर्यटकीय सडक बनाउने र डुडुवा नालामा करिडोर तथा ग्रीन बेल्ट निर्माण गरी बाढीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने योजना अघि सारिएको छ । युवा तथा रोजगारी प्रवर्धनका लागि नेपालगञ्जमा सूचना प्रविधि पार्क तथा नव प्रवर्धन केन्द्र स्थापना गर्ने, फ्री वाई–फाई जोन विस्तार गर्ने र युवा उद्यमीका लागि बिना धितो सस्तो ब्याजमा नवउद्यमी कर्जा उपलब्ध गराउने विषयलाई जोड दिइएको छ । कृषि तथा आर्थिक विकासका लागि ‘एक स्थानीय तह, एक उत्पादन’ को नीति, कोल्ड स्टोर शित भण्डारको व्यवस्था, र जडीबुटी तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
पर्यटन तथा सामाजिक सद्भावतर्फ लुम्बिनी–नेपालगञ्ज पर्यटकीय मार्गको सुदृढीकरण गर्ने, बागेश्वरी मन्दिरलाई ‘स्मार्ट बागेश्वरी’ बनाउने, नेपालगञ्जमा हज हाउस निर्माण गर्ने र मदरसा शिक्षालाई आधुनिकीकरण गर्दै राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने योजना रहेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा भेरी अस्पताललाई सुपर–स्पेशियालिटी केन्द्रमा रूपान्तरण गर्ने, ‘पढ्दै–कमाउँदै’ इन्टर्नसिप कार्यक्रम लागू गर्ने र नेपालगञ्ज रङ्गशालालाई स्मार्ट स्तरोन्नति गर्ने विषयहरू समेटिएका छन् । उम्मेदवार विष्टले राजनीतिलाई पेसा नभई सेवाको रूपमा लिने, नतिजामुखी काम गर्ने र सदैव जनताको सुखदुःखमा साथ दिने बाचा गर्दै बाँके क्षेत्र नं. २ सम्भावनाले भरिपूर्ण भए पनि प्रभावकारी राजनीतिक नेतृत्व र इच्छाशक्तिको अभावमा पछि परेको उल्लेख गर्नुभयो । विष्टले नयाँ राजनीतिक परिवेशमा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिँदै जेन्जी आन्दोलनका जनपक्षीय माग सम्बोधन गर्न आफ्नो पार्टी निरन्तर संघर्षरत रहेको तथा आगामी दिनमा युवाहरूले फेरि बलिदान दिनु नपरोस् भन्ने उद्देश्यले सही विचार र नीतिसहितको नेतृत्व आवश्यक रहेको बताउनुभयो । गोरखापत्र

