काठमाडौं । फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई चुस्त बनाइएको बताउनुभयो । उहाँले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । साथै, निर्वाचनको समयमा ७२ घण्टाका लागि नेपाल–भारत सीमा नाका बन्द गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालले मोरङको समग्र सुरक्षा अवस्था र चुनौतीबारे जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा निर्वाचन सुरक्षाका लागि ७ हजार ८ सय ५१ जना सुरक्षाकर्मी परिचालन गरिनेछ । मोरङका ३०६ मतदान स्थलमध्ये ४७ वटालाई ‘अति संवेदनशील’, १२५ लाई ‘संवेदनशील’ र १३४ वटालाई ‘सामान्य’ श्रेणीमा राखेर विशेष सुरक्षा योजना लागू गरिएको छ । एसपी कटवालले गएराति सुनवर्षीमा मतदाता प्रभावित पार्न पैसा बाँड्न हिँडेको आरोपमा ४ लाख ४९ हजार रुपियाँसहित तीन जनालाई नियन्त्रणमा लिइएको र थप कारबाहीका लागि निर्वाचन कार्यालयमा बुझाइएको घटनाबारे समेत जानकारी दिनुभयो । आचारसंहिता अनुगमन अधिकृत टोमनाथ उप्रेतीले उम्मेदवारहरूको आर्थिक पारदर्शिताका लागि अनिवार्य बैंक खाताको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ९० जना उम्मेदवारले खाता खोल्न सिफारिस लिएकोमा ६० जनाले खाता खोलिसकेका छन् । उम्मेदवारहरूले निर्वाचन सम्बन्धी सम्पूर्ण आर्थिक कारोबार बैंकमार्फत नै गर्नुपर्ने उहाँले स्मरण गराउनुभयो ।
छलफलमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको, इजाजत प्राप्त हतियार बुझाउन निर्देशन दिइएको र फागुन २० गते रातिदेखि सवारीसाधनको आवागमनमा रोक लगाइने जानकारी समेत दिइयो । निर्वाचनको समयमा परेका होली र रमजान पर्वलाई मर्यादित रूपमा घरभित्रै मनाउन र निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी कुनै गतिविधि नगर्न प्रशासनले सबैमा आग्रह गरेको छ। सञ्चारकर्मीहरूका लागि मतगणना स्थलमा सूचना सङ्कलनका लागि इन्टरनेटसहितको छुट्टै कक्षको व्यवस्था गर्ने प्रतिबद्धता समेत अधिकारीहरूले जनाएका छन्। गोरखापत्र

