काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो । कतारी अधिकारीले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ ।
अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ। दूतावासले कतारमा रहेका नेपालीसँग टेलिफोनलगायत माध्यमबाट नियमित सम्पर्कमा रहेको जनाएको छ । कतारमा हाल तीन लाख ६० हजार श्रमिक छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि त्यसको प्रत्याक्रमणमा इरान उत्रिएपछि पश्चिम एसियमा तनाव बढेको छ । गोरखापत्र

