काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ । खुल्ला सीमाको मौका छोपी भारतीय बजारबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद गरेको हो ।
प्रहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ समेत गरेको र उनीहरूको साथबाट फेला परेको लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी उपरीक्षक केशव कुमार थेवेले जानकारी दिनुभयो । थेवेका अनुसार सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ भन्सार टोलमा भारतबाट नेपालतर्फ आँउदै गरेको प्रदेश १–०२–०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक जिल्लाको दुहवी नगरपालिका वडा नं.–२ का २१ वर्षीय सुशान्त चौधरी र दुहवी १० का २५ वर्षीय मेराज चौधरीको साथबाट ८.११ ग्राम ब्राउन सुगर र एक थान मोटरसाइकल बरामद भएको छ ।
त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ६ ढलान रोडबाट पैदलयात्री मोरङको कानेपोखरी गाउँपालिका वडा नं.–७ का ३४ वर्षीय सुरेन्द्र जिमीको साथबाट ६.३९ ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुई स्थानबाट तीन जनाको साथमा १४ .५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । गोरखापत्र

