काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको हो । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण तथा परिचय नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग आबद्ध गर्ने गरी दुई निकायबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवाको प्रयोग गर्नेछ ।यस सहकार्यले नागरिकको पहिचान डिजिटल माध्यमबाट प्रमाणीकरण गर्ने बाटो खुल्ने विश्वास गरिएको छ । राष्ट्रिय परिचय नम्बरलाई स्वास्थ्य बीमासँग जोड्दा प्रणाली अझ सुरक्षित, छिटो र विश्वसनीय हुने अपेक्षा गरिएको छ ।नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रियामा हुने झन्झट हट्ने जनाइएको छ ।
राष्ट्रिय परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।यसले तथ्यांक एकीकरणमा सहयोग पुग्नुका साथै एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्या नियन्त्रण हुने बताइएको छ । सरकारी सेवाहरूलाई एकीकृत गर्ने लक्ष्य अनुरूप चालिएको यो कदमले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा बोर्डले यसअघि नै राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारी गरिरहेको सन्दर्भमा भएको यो समझदारीले ‘डिजिटल नेपाल’ अभियानलाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ । गोरखापत्र

