काठमाडौं । बाँके जिल्लाको नरैनापुरमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर मार्फत सो क्षेत्रका चार सय बढी विपन्नको उपचार गरिएको छ ।गोपाल नीना फाउन्डेसन नेपालगन्जले नरैनापुर गाउँपालिका वडा नं.२ लक्ष्मणपुरमा आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरमा सो क्षेत्रका चार सय बढी स्थानीयले उपचार सेवा पाएको फाउन्डेसनका प्रबन्ध निर्देशक डा.गौरव श्रेष्ठले जानकारी दिनुभयो । पेट तथा कलेजो रोग विशेषज्ञ समेत रहनु भएका प्रबन्ध निर्देशक डा.श्रेष्ठले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका तथा विशेषज्ञ सेवाबाट बञ्चित रहनुभएका विपन्न र पिछडिएका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले नरैनापुरको लक्ष्मणपुरमा निशुल्क शिविर गरिएको बताउनुभयो । फाउन्डेसनका अनुसार उक्त शिविरमा फिजिसियन, प्रसूति तथा स्त्री रोग, मुटुरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, बालरोग विशेषज्ञ तथा छाला रोग विशेषज्ञ लगायतका अनुभवी चिकित्सकले सेवा प्रदान गर्नुभएको थियो । विशेषज्ञ स्वास्थ्य सेवा नपाउने सो क्षेत्रका चार सय बढी स्थानीय बासिन्दाले शिविरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी लगायतले सेवा लिएको फाउन्डेसनका पब्लिक म्यानेजर दिलिप गिरीले जानकारी दिनुभयो ।
उहाँले सामान्य रोगको पनि उपचार पाउन निकै दुख पाउने सो क्षेत्रका वासिन्दाले घरआँगनमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा शिविरमा ओइरिएको बताउनुभयो । त्यहाँ उपचारका लागि आउनुभएका अधिकांश नागरिकले यस्ता शिविर नरैनापुरको सबै वडामा आवश्यक रहेको पनि बताउनुभयो । नरैनापुर गाउँपालिका, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस, नेपाल औषधी तथा बिक्री प्रतिनिधि सङ्घ, नेपाल औषधीगत बिक्री प्रबन्धक संगठन लगायतका सङ्घसंस्थाको प्राविधिक सहयोग समेत रहेको उक्त शिविरमा पेट तथा कलेजो रोग विशेषज्ञ डा.श्रेष्ठ सहित विशेषज्ञ चिकित्सक डा.चन्दन सिंह, डा.लक्ष्मण यादव, चन्द्र शेखर यादव, डा.मेघा मण्डल लगायतले बिरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएको फाउन्डेसनका जनसम्पर्क अधिकृत विजेन्द्र जिसीले जानकारी दिनुभयो । उहाँले नरैनापुर जस्तो दुर्गम र स्वास्थ्य सेवाको पहुँच न्यून रहेको क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा चिकित्सक लगायत फाउन्डेसनका सबैजना निकै उत्साहित देखिनु भएको बताउनुभयो । गोरखापत्र

