काठमाडौं । जिल्लास्थित सरकारी कार्यालयहरू बाट प्रवाह हुने सार्वजनिक सेवा पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्दै गएको छ । सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याउन थालिएको छ ।विगतमा सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहे पनि हाल सेवा छिटो, छरितो र सरल रूपमा उपलब्ध हुन थालेको सेवाग्राहीले बताएका छन् । स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको सेवाग्राहीले बताउन थालेका छन ।जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको बताएको छ । प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य भएमा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।
जिल्लास्थित सबै कार्यालयहरूलाई सार्वजनिक सेवा बिचौलियामुक्त बनाउन प्रशासनले आग्रह गरेको छ । साथै सेवा प्रवाहलाई अझ छिटो, छरितो र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ । स्थानीय स्तरमै सेवा निःशुल्क र सहज रूपमा उपलब्ध हुन थालेपछी सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सकेका छन ।यसले ग्रामीण भेगका नागरिकलाई विशेष रूपमा लाभ पुगेको बताइएको छ । सरकारी सेवा प्रणालीमा आएको सुधारले पारदर्शिता अभिवृद्धि हुनुका साथै सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । गोरखापत्र

