शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

Published on

काठमाडौँ । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ । अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सतहत्तर वर्षीया हसिना भारतमा स्व–निर्वासनमा हुनुहुन्छ र मानवता विरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गर्नुभएको छ । बङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताउनुभयो । “गृह मन्त्रालयले बङ्गलादेश अवामी लिग र यससँग जोडिएका संस्थाहरूको सबै प्रकारका सङ्गठनात्मक गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ”, उहाँले सोमबार राति पत्रकारहरूलाई भन्नुभयो, “त्यो निर्णयलाई निरन्तरता दिँदै निर्वाचन आयोगले आयोगमा अवामी लिगको दर्ता निलम्बन गर्ने निर्णय गरेको छ ।” चौरासी वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताउनुभएको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफ्नो कार्यवाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्‍याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ । बङ्गलादेशमा चुनावमा भाग लिन लगायत राजनीतिक गतिविधिहरूमा संलग्न हुन राजनीतिक दलहरू निर्वाचन आयोगसँग दर्ता हुनुपर्छ । अवामी लिगलाई प्रतिबन्ध लगाइएको यो तेस्रो पटक हो । पहिलो सन् १९७१ मा पाकिस्तानी सैन्य शासक याह्या खानको नेतृत्वमा र दोस्रो सन् १९७५ मा शेख मुजीबुर रहमानको नेतृत्वमा आएको थियो । त्यसबेला रहमानले बङ्गलादेशमा एक दलीय सरकार सुरु गर्नुभएको थियो । रासस/एएफपी

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...