अन्नपूर्ण क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा मनाङमा रौनक

Published on

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको तथ्याङ्कअनुसार यो सिजन मनाङ पर्यटनका दृष्टिले निकै सशक्त देखिएको छ । अन्नपूर्ण पदमार्ग हुँदै मनाङ प्रवेश गर्ने यो समय पर्यटकको बाक्लो आगमन हुने मुख्य मौसम मानिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने मनाङ विश्वकै प्रतिष्ठित पदयात्राको गन्तव्य भएकाले साउनदेखि कात्तिकसम्म यहाँ आउने विदेशी पर्यटकहरूको सङ्ख्या हरेक वर्ष उच्च रहने गर्छ । यस वर्ष पनि सोही प्रवृत्ति दोहोरिएको छ ।

साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मनाङ भ्रमण गर्ने विदेशी पर्यटकको कुल सङ्ख्या १६ हजार २९६ पुगेको छ । तीमध्ये सार्क देशका पुरुष ८१२ र महिला १७७ रहेका छन् । अन्य मुलुकका पर्यटकमध्ये पुरुष ९ हजार ६९१, महिला ६ हजार ६०१ तथा अन्य लिङ्गका ४ जना मनाङ पुगेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चार महिनाको अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गर्दा चहलपहल बढेको बताउनुभयो । उहाँले आगमन सङ्ख्याका आधारमा यस वर्ष पनि इजरायल, फ्रान्स र जर्मनी शीर्ष तीन स्थानमा परेको बताउनुभयो । उहाँका अनुसार इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन्, जसले युरोपेली तथा मध्यपूर्वी पर्यटकको मनाङप्रतिको रुचि झनै पुष्टि गरेको छ ।

स्थानीय होटल व्यवसायी फुर्वा लामाले सिजनमा जहिल्यै कोठा अभाव हुने अवस्था आउने गरेको बताउनुभयो । थोरङ्ला पास, तिलिचो ताल, बेस क्याम, भ्राका गुम्बा, मनाङ गाउँलगायतका स्थानमा पर्यटकको चहलपहल बाक्लिँदै जाँदा स्थानीय अर्थतन्त्र चलायमान भएको उहाँको भनाइ छ । उच्च मौसम सुरु भएसँगै दैनिक रूपमा चार सयदेखि पाँच सय पर्यटक मनाङ प्रवेश गर्छन् । मौसम सामान्य रहेमा अझै केही सातासम्म पर्यटक आगमन उकालो लाग्ने अनुमान पर्यटन व्यवसायीको छ । स्थानीय तह र सरोकारवाला निकायले पर्यटकको सुरक्षासहित सूचना, सडक सञ्जाल र पूर्वाधार व्यवस्थापनमा ध्यान दिए मनाङको पर्यटन अझ प्रभावकारी हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...