अमेरिकी हतियार सार्ने तयारी : सियोल भन्छ, ‘सुरक्षामा फरक पर्दैन’

Published on

काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्धका कारण अमेरिकाले दक्षिण कोरियामा तैनाथ आफ्ना केही सैन्य उपकरण त्यहाँ सार्न सक्ने समाचार सार्वजनिक भइरहेका बेला सियोलले आफ्नो सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने दाबी गरेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले बुधबार यस्तो सम्भावित कदम भए पनि उत्तर कोरियाबाट आउने खतरा रोक्ने क्षमतामा कुनै समस्या नपर्ने स्पष्ट पारेको हो । दक्षिण कोरियाको प्रमुख सुरक्षा साझेदार अमेरिका करिब २८ हजार ५०० सैनिकसहित त्यहाँ स्थायी रूपमा तैनाथ छ । यी सैनिकसँगै विभिन्न हवाई तथा मिसाइल रक्षा प्रणालीहरू पनि दक्षिण कोरियामा राखिएका छन्, जसले उत्तर कोरियाको सम्भावित आणविक तथा ब्यालेस्टिक मिसाइल आक्रमणलाई रोक्न सहयोग गर्ने उद्देश्य राख्छन् ।

अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले यसै साता अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आफ्नो टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणालीका केही अंश दक्षिण कोरियाबाट मध्यपूर्वतर्फ सार्ने तयारी गरिरहेको खबर सार्वजनिक गरेको थियो । इरानसँग सम्बन्धित बढ्दो तनाव र युद्धको अवस्थालाई ध्यानमा राख्दै उक्त सैन्य सम्पत्ति सार्न लागिएको हुन सक्ने अनुमान गरिएको छ । तर दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस्तो रिपोर्टको प्रत्यक्ष पुष्टि भने गर्न अस्वीकार गरेको छ । मन्त्रालयले एएफपीलाई दिएको विज्ञप्तिमा केही अमेरिकी सैन्य सम्पत्ति विदेशमा पुनःतैनाथ भए पनि समग्र सैन्य क्षमताको हिसाबले उत्तर कोरियाको सम्भावित आक्रमणलाई रोक्ने आफ्नो प्रतिरोधी अवस्थामा कुनै कमजोरी नआउने जनाएको छ ।

विज्ञप्तिमा संयुक्त राज्य सेनाको कोरियास्थित बल (युएसएफके) सँग अझै पनि पर्याप्त सैन्य क्षमता रहेको र यसका आधारमा उत्तर कोरियाको जोखिम नियन्त्रण गर्न सकिने उल्लेख छ । त्यसैले सीमित सैन्य उपकरण स्थानान्तरण भए पनि सुरक्षा व्यवस्थामा ठूलो प्रभाव नपर्ने सियोलको दाबी छ । थाड मिसाइल रक्षा प्रणाली छोटो, मध्यम तथा मध्यवर्ती दूरीका ब्यालेस्टिक मिसाइललाई अवरोध गर्न डिजाइन गरिएको आधुनिक प्रणाली हो । यसले ‘हिट–टु–किल’ प्रविधि प्रयोग गरेर आक्रमणकारी मिसाइललाई सीधै ठोक्किएर नष्ट गर्ने क्षमता राख्छ । यो प्रणाली सन् २०१७ मा दक्षिण कोरियामा स्थापना गरिएको थियो । यस प्रणालीले क्षेत्रीय सामरिक सन्तुलन बिगार्ने चिन्ता व्यक्त गर्दै त्यसबेला उक्त निर्णयको चीनले तीव्र विरोध गरेको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले भने अमेरिकी सैन्य सम्पत्ति सारिने खबरप्रति आफ्नो सरकार सन्तुष्ट नभएको सङ्केत गर्नुभएको छ । यद्यपि वास्तविकता भने फरक रहेको र यस विषयमा सियोलको निर्णय क्षमता सीमित रहेको उहाँले स्वीकार गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति लीले युएसएफकेले आफ्नै सैन्य आवश्यकताका कारण केही हवाई रक्षा हतियार फिर्ता लिएको विषयमा सरकार असन्तुष्ट रहेको बताउनुभएको थियो । तर उहाँले दक्षिण कोरियाले आफ्ना सबै धारणा पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्ने कठोर यथार्थ पनि रहेको उल्लेख गर्नुभयो । यसैबीच, दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापले गत साता खिचिएको र मङ्गलबार सार्वजनिक गरिएको एउटा तस्वीरबारे रिपोर्ट गरेको छ । उक्त तस्वीरमा सियोलबाट करिब २२० किलोमिटर दक्षिणतर्फ रहेको सेओङ्गजु काउन्टीमा रहेको थाड ब्याट्रीका केही भाग हटाइएको वा भत्काइएको देखिएको बताइएको छ ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले भने सैन्य सम्पत्ति पुनःतैनाथ सम्बन्धी विषयमा सार्वजनिक रूपमा टिप्पणी गर्नु उचित नहुने बताएका छन् । उनले यस्तो विषय अत्यन्त संवेदनशील हुने भएकाले मिडियामा आउने अनुमानित समाचारप्रति सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार सैन्य रूपमा संवेदनशील विषयमा आधारित अनुमानित रिपोर्टहरूले देशको सुरक्षा चासोमा असर पार्न सक्छन् । साथै यस्ता समाचारले दक्षिण कोरियाको प्रमुख मध्यपूर्वी देशहरूसँगको सम्बन्धलाई पनि अनावश्यक रूपमा प्रभावित पार्ने जोखिम रहने उनले उल्लेख गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम...

महिलालाई लेखन कार्यमा सक्रिय हुन आह्वान

काठमाडौं । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित...

राष्ट्रिय लिग : एनआरटी र लालीगुराँसको बराबरी

काठमाडौं । न्युरोड टिम (एनआरटी) र लालीगुराँस एसोसिएसनले एन्फा राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै...

यस वर्ष मलखादको अभाव हुँदैन : कृषिमन्त्री डा. परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव...