आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

Published on

काठमाडौं – आज नोभेम्बर २५ तारिख अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । दिवसकै अवसरमा आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सुरु भएको छ । महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।

विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो ।

यस वर्ष नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नाराका साथ १६ दिने अभियान सञ्चालन भइरहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विश्वभर यो अभियान मनाउने गरिन्छ । नेपालमा पनि महिला हिंसाविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम, छलफल तथा अभियान सञ्चालन हुँदै आएका छन् । सन् १९८० को दशकदेखि विभिन्न देशले महिलामाथि हुने हिंसाविरुद्ध दिवस मनाउन थालेका थिए । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा अनुमोदन गरेपछि यसले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेपालमा भने सन् १९९७ देखि नै विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन थालिएको हो ।

२०७५ साल कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका रूपमा मनाउने निर्णय गरेको थियो । नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लक्ष्य राखेको छ । समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संवैधानिक सङ्कल्पसमेत गरेको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव तथा हिंसालाई कानुनले दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ । यद्यपि, महिला तथा बालिकामाथि हुने हिंसाका घटनाको अन्त्य, पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु अझै चुनौतीका रूपमा रहेको छ ।

spot_img

ताजा समाचार

पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित हुँदै नेपाल एसिया कप राइजिङ स्टार्सबाट बाहिरियो

काठमाडौं – एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित...

भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण गर्न सङ्घीय सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत...

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...