महेन्द्रनगर १० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण गरिएको छ । वडा कार्यालय र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा वडामा बसोबास गर्ने ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण गरिएको हो ।

जिल्लाका कान्छा वडाध्यक्ष समेत रहेका मदन राज मिश्रका अनुसार सेवा नै धर्म हो भन्ने उदेश्यका साथ जेष्ठ नागरिकलाई घरदैलो आधारभुत स्वास्थ्य सेवा तथा निशुल्क औषधि वितरण गरिएको छ । निर्वाचनको बेला घरदैलो कार्यक्रममा जाँदा आफूले गरेको प्रतिवद्धता अनुरुप निशुल्क औषधी वितरण गर्ने कार्य भएको उनले बताए ।

“आजको दिनदेखि टोलटोलमा गएर प्रत्येक ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क औषधि वितरण सँगै घरदैलो आधारभुत स्वास्थ्य सेवा सुरु भएको छ ।” वडाध्यक्ष मिश्रले भने, “आउँदो दिनमा वडाका प्रत्येक टोलमा गएर पनि यस्तै सेवालाई निरन्तरता दिईनेछ ।”