काठमाडौं । नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएकाे छ । अविरल वर्षाका कारण माथिबाट पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडककाे विभिन्न स्थानमा लेदो माटोसहितको पहिरो गएका कारण सडक अवरुद्ध भएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएकाे छ ।
वर्षा जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको र लेदोमाटो सहितको पहिरो अहिले पनि झरिरहेको समेत डिभिजन सडक कार्यालयले जनाएको छ । पहिरोका कारण यात्रुहरू बीच सडकमै अलपत्रमा परेका छन् । पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिन छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सडक कार्यालयसँग समन्वय गरेर सडक खुला गर्ने प्रयास भइरहेको जानकारी दिए ।