२०२० पछि पहिलोपटक चिनियाँ सेना भारतीय सीमाभित्र पस्ने प्रयास

Published on

काठमाडौं । सन् २०२० पछि पहिलोपटक चिनियाँ सेना भारतीय सीमाभित्र पस्ने प्रयास गरेको छ । यसपटक चिनियाँ सेनाले पूर्वी सेक्टरमा रहेको अरुणाचल प्रदेशको तवाङमा पस्ने कोशिश गरेको हो । भारतीय सेनाले चिनियाँहरूको उक्त प्रयासलाई विफल तुल्याइएको दाबी गरेका छन् । तवाङको यांग्त्सेमा चिनियाँ सैनिकहरूले घुसपैठ गर्ने कोशिश गरेका हुन् । १७ हजार फीटको उचाइमा रहेको यस स्थानमा सन् १९६२ को भारत–चीन युद्धदेखि नै चीनको नजर छ । त्यतिखेरदेखि नै चीनले उक्त भाग नियन्त्रणमा लिन खोजिरहेको छ । तवाङ भारतको कमजोर कडी हो जसले भारतलाई सधैं सताइरहन्छ । भारतीय सेनाका सूत्रहरूले सञ्चारमाध्यमहरूलाई बताएअनुसार, यांग्त्सेलाई चिनियाँ जनमुक्ति सेनाले धेरै अघिबाट कब्जामा पार्न चाहिरहेको छ । तवाङमा चीनको महत्त्वाकांक्षा बुझ्नका लागि बेलायती उपनिवेशकालमा फर्किनुपर्ने हुन्छ । भारतमा अंग्रेजहरूले शासन चलाउँदा तिब्बत र भारतबीच म्याकमाहोन रेखा कोरिएको थियो । त्यसबारेमा चीनले असन्तुष्टि जनाएको थियो तर आपत्ति चाहिँ गरेको थिएन ।

तर सन् १९४७ मा बेलायती उपनिवेशको अन्त्य भएर भारत स्वतन्त्र भएपछि चीनले तिब्बतका विभिन्न भागमा दाबी गर्न थाल्यो । सन् १९४९ मा जनगणतन्त्र चीन स्थापित भएपछि चीनले केही समयभित्रै तिब्बत नियन्त्रणमा लियो । अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ र त्यसमा चीनको दाबी रहने बताएको छ । सन् १९६१ देखि नै चीन अरुणाचल प्रदेशका विषयमा आक्रामक रहँदै आएको छ । यांग्त्सेको कुरा गर्नुपर्दा यो तवाङबाट ३५ किलोमिटर पर उत्तरपूर्वी दिशामा छ । सन् २०२१ को नोभेम्बर महिनामा पनि चिनियाँ र भारतीय सैनिकहरूबीच यसै स्थानमा भिडन्त भएको थियो । यांग्त्से मार्च महिनासम्म हिउँले ढाकिएको हुन्छ । यो स्थान भारतीय सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।
यस स्थानमा भारत र चीनका लगभग ३५ सय सैनिकहरू तैनाथ रहेको बताइन्छ । यहाँ ड्रोनबाट पनि नजर राख्ने गरिन्छ ।

दुवैतर्फ सडकको राम्रो सञ्जाल छ । वास्तविक नियन्त्रण रेखा नजिक सैनिकहरू गश्ती गर्छन् । यांग्त्सेबाट तिब्बतका धेरै स्थानमा निगरानी गर्न चीनलाई सजिलो हुन्छ । उसलाई वास्तविक नियन्त्रण रेखामा गुप्तचरी गर्न पनि सहज हुन्छ ।

सन् १९६२ मा भारत र चीनबीच पहिलोपटक लडाइँ भएको थियो । त्यस युद्धमा चीनले तवाङ हात पार्न पूरा कोशिश गरेको थियो । उक्त लडाइँमा भारतका ८०० जति जवान शहीद भएको बताइन्छ । अनि एक हजार जवानलाई चीनले बन्दी बनाएको थियो । चीनले सीमाक्षेत्रमा विगत एक दशकदेखि अनेकौं निर्माणकार्य गरेको छ । त्यहाँ राजमार्ग, सैन्य पोस्ट, हेलिप्याड र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू पनि उसले तयार पारेको छ । तिब्बतबाट निर्वासित भएर दलाई लामा पहिलोपटक तवाङ नै पुगेका थिए । सन् २०१७ को अप्रिल महिनामा दलाई लामा कैयौं वर्षको अन्तरालमा तवाङ पुग्दा चीन आक्रोशित भएको थियो । दलाई लामालाई चीनले पृथक्तावादी नेता मान्ने गरेको छ । सन् २०२१ को जुलाईमा चीनका राष्ट्रपति सी चिनपिङ गोप्य रूपमा तवाङ नजिक नीङ्चीको भ्रमणमा पुगेका थिए । त्यहाँ पुग्ने उनी पहिलो चिनियाँ राष्ट्रपति हुन् । नीङ्ची तिब्बतको एउटा शहर हो र अरुणाचल प्रदेशसँग जोडिएको छ ।

तवाङ नियन्त्रणमा लिएमा पूर्वी तिब्बतमा चीनलाई असाधारण भूरणनीतिक लाभ प्राप्त हुनेछ । त्यसैले ऊ तवाङमा निहुँ खोजिरहन्छ । सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा हिंसा भएपछि चिनियाँ राष्ट्रपतिले सेनालाई सबै किसिमका युद्धका लागि तयार हुन निर्देशन दिएका थिए । उनले जवानहरूलाई सारा दिमाग र ऊर्जा युद्धको तयारीमा खर्च गर्न भनेका थिए ।

अक्टोबर महिनामा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनमा पनि सीले चिनियाँ सेनालाई युद्धका लागि तयार रहन भनेका थिए । त्यसबेलामा गलवान हिंसाको भिडियो क्लिप पनि चलाइएको थियो । अनि उक्त घटनामा संलग्न चिनियाँ कमान्डरलाई पनि महाधिवेशनमा निमन्त्रण गरिएको थियो । एजेन्सी/लोकान्तर

ताजा समाचार

सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलो पटक सङ्गठनको प्रतिनिधित्व गर्नुहुँदै सशस्त्र प्रहरी...

संसद्‌मा कांग्रेसको अवरोध कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति...

घर, समाज र टोलका विवाद मिलाउन ‘न्याय चौतारी’

काठमाडौं । स्थानीय विवाद सामुहिक छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्न काठमाडौँ महानगरपालिकाले ‘न्याय...

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु। एक हजार दुई सयले...