२०२० पछि पहिलोपटक चिनियाँ सेना भारतीय सीमाभित्र पस्ने प्रयास

Published on

काठमाडौं । सन् २०२० पछि पहिलोपटक चिनियाँ सेना भारतीय सीमाभित्र पस्ने प्रयास गरेको छ । यसपटक चिनियाँ सेनाले पूर्वी सेक्टरमा रहेको अरुणाचल प्रदेशको तवाङमा पस्ने कोशिश गरेको हो । भारतीय सेनाले चिनियाँहरूको उक्त प्रयासलाई विफल तुल्याइएको दाबी गरेका छन् । तवाङको यांग्त्सेमा चिनियाँ सैनिकहरूले घुसपैठ गर्ने कोशिश गरेका हुन् । १७ हजार फीटको उचाइमा रहेको यस स्थानमा सन् १९६२ को भारत–चीन युद्धदेखि नै चीनको नजर छ । त्यतिखेरदेखि नै चीनले उक्त भाग नियन्त्रणमा लिन खोजिरहेको छ । तवाङ भारतको कमजोर कडी हो जसले भारतलाई सधैं सताइरहन्छ । भारतीय सेनाका सूत्रहरूले सञ्चारमाध्यमहरूलाई बताएअनुसार, यांग्त्सेलाई चिनियाँ जनमुक्ति सेनाले धेरै अघिबाट कब्जामा पार्न चाहिरहेको छ । तवाङमा चीनको महत्त्वाकांक्षा बुझ्नका लागि बेलायती उपनिवेशकालमा फर्किनुपर्ने हुन्छ । भारतमा अंग्रेजहरूले शासन चलाउँदा तिब्बत र भारतबीच म्याकमाहोन रेखा कोरिएको थियो । त्यसबारेमा चीनले असन्तुष्टि जनाएको थियो तर आपत्ति चाहिँ गरेको थिएन ।

तर सन् १९४७ मा बेलायती उपनिवेशको अन्त्य भएर भारत स्वतन्त्र भएपछि चीनले तिब्बतका विभिन्न भागमा दाबी गर्न थाल्यो । सन् १९४९ मा जनगणतन्त्र चीन स्थापित भएपछि चीनले केही समयभित्रै तिब्बत नियन्त्रणमा लियो । अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत भन्ने गरेको छ र त्यसमा चीनको दाबी रहने बताएको छ । सन् १९६१ देखि नै चीन अरुणाचल प्रदेशका विषयमा आक्रामक रहँदै आएको छ । यांग्त्सेको कुरा गर्नुपर्दा यो तवाङबाट ३५ किलोमिटर पर उत्तरपूर्वी दिशामा छ । सन् २०२१ को नोभेम्बर महिनामा पनि चिनियाँ र भारतीय सैनिकहरूबीच यसै स्थानमा भिडन्त भएको थियो । यांग्त्से मार्च महिनासम्म हिउँले ढाकिएको हुन्छ । यो स्थान भारतीय सेनाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ ।
यस स्थानमा भारत र चीनका लगभग ३५ सय सैनिकहरू तैनाथ रहेको बताइन्छ । यहाँ ड्रोनबाट पनि नजर राख्ने गरिन्छ ।

दुवैतर्फ सडकको राम्रो सञ्जाल छ । वास्तविक नियन्त्रण रेखा नजिक सैनिकहरू गश्ती गर्छन् । यांग्त्सेबाट तिब्बतका धेरै स्थानमा निगरानी गर्न चीनलाई सजिलो हुन्छ । उसलाई वास्तविक नियन्त्रण रेखामा गुप्तचरी गर्न पनि सहज हुन्छ ।

सन् १९६२ मा भारत र चीनबीच पहिलोपटक लडाइँ भएको थियो । त्यस युद्धमा चीनले तवाङ हात पार्न पूरा कोशिश गरेको थियो । उक्त लडाइँमा भारतका ८०० जति जवान शहीद भएको बताइन्छ । अनि एक हजार जवानलाई चीनले बन्दी बनाएको थियो । चीनले सीमाक्षेत्रमा विगत एक दशकदेखि अनेकौं निर्माणकार्य गरेको छ । त्यहाँ राजमार्ग, सैन्य पोस्ट, हेलिप्याड र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू पनि उसले तयार पारेको छ । तिब्बतबाट निर्वासित भएर दलाई लामा पहिलोपटक तवाङ नै पुगेका थिए । सन् २०१७ को अप्रिल महिनामा दलाई लामा कैयौं वर्षको अन्तरालमा तवाङ पुग्दा चीन आक्रोशित भएको थियो । दलाई लामालाई चीनले पृथक्तावादी नेता मान्ने गरेको छ । सन् २०२१ को जुलाईमा चीनका राष्ट्रपति सी चिनपिङ गोप्य रूपमा तवाङ नजिक नीङ्चीको भ्रमणमा पुगेका थिए । त्यहाँ पुग्ने उनी पहिलो चिनियाँ राष्ट्रपति हुन् । नीङ्ची तिब्बतको एउटा शहर हो र अरुणाचल प्रदेशसँग जोडिएको छ ।

तवाङ नियन्त्रणमा लिएमा पूर्वी तिब्बतमा चीनलाई असाधारण भूरणनीतिक लाभ प्राप्त हुनेछ । त्यसैले ऊ तवाङमा निहुँ खोजिरहन्छ । सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा हिंसा भएपछि चिनियाँ राष्ट्रपतिले सेनालाई सबै किसिमका युद्धका लागि तयार हुन निर्देशन दिएका थिए । उनले जवानहरूलाई सारा दिमाग र ऊर्जा युद्धको तयारीमा खर्च गर्न भनेका थिए ।

अक्टोबर महिनामा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनमा पनि सीले चिनियाँ सेनालाई युद्धका लागि तयार रहन भनेका थिए । त्यसबेलामा गलवान हिंसाको भिडियो क्लिप पनि चलाइएको थियो । अनि उक्त घटनामा संलग्न चिनियाँ कमान्डरलाई पनि महाधिवेशनमा निमन्त्रण गरिएको थियो । एजेन्सी/लोकान्तर

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...