गहुँ आयातका लागि भारतसँग पत्राचार

Published on

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिनुभयो । “बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,” उहाँले भन्नुभयो, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक वर्षका लागि माग गरिएको हो ।”

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई ध्यानमा राख्दै नेपाललगायतका मुलुकमा गहुँ निर्यात प्रतिबन्ध लगाएको थियो । लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मैदा मिल बन्द हुन थालेपछि उद्योगीले भारतबाट गहुँ आयात खुला गराउन पहल गर्न सरकारसँग माग गरेका थिए । मन्त्रालयको पहलमा गत पुस महिनामा भारतले ५० हजार मेट्रिक टन गहुँ आयात खुला गरेको थियो । मन्त्रालयले २४ मैदा उद्योगलाई ३३ हजार गहुँ आयात गर्न कोटा निर्धारण गरेको थियो । गहुँको आयात गरेसँगै उद्योगीले बजार माग पूरा गर्न थप तीन लाख मेट्रिक टन गहुँ आयात खुला गर्न माग गरेका थिए । सोहीअनुसार मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात गर्न पत्राचार गरेको हो । नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले भारतबाट आयात गरिएको र स्थानीय उत्पादन आइसकेकाले गहुँको अभाव नभएको जानकारी दिनुभयो । “मैदा मिल चल्नका लागि वार्षिक १२ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ, छ लाख स्थानीय उत्पादन र छ लाख मेट्रिक टन आयात गर्नुपर्छ,” उहाँले भन्नुभयो । आगामी तीनरचार महिनाका लागि गहुँको अभाव नहुने उहाँको भनाइ छ । लामो समयदेखि गहुँको अभावले बन्द रहेका मैदा मिल अहिले नियमित रूपमा चल्न थालेको सङ्घले जनाएको छ । गहुँको अभावले चाररपाँच महिना मैदा मिल ५० प्रतिशत मात्र सञ्चालनमा रहेको सङ्घको भनाइ छ । मुलुकभर करिब ४० वटा मैदा मिल सञ्चालनमा छन् ।

पछिल्लो समय बजारमा मैदा, आँटाको मूल्यसमेत घटेको छ । गहुँको अभाव हुँदा मैदा, पिठोको मूल्य बढेको थियो । अहिले प्रतिकेजीमा सातदेखि १० रुपियाँ मूल्य घटेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने मैदा, आँटा, पास्ता, बिस्कुटलगायतका उत्पादन गहुँबाट हुने गर्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ । आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष हिउँदको समयमा पानी नपरेकाले गहुँको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...