अर्थतन्त्रमा सुधारको सङ्केत

Published on

काठमाडौं । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो । 

प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै मरमसलाको २६.६१ प्रतिशत र गैर खाद्य समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको सबैभन्दा धेरै १५.७५ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

विप्रेषण १० खर्ब नाघ्यो

समीक्षा अवधिमा नेपाल भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो आवको वैशाखसम्म आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विपे्रषण १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड डलर पुगेको छ । 

समीक्षा अवधिमा खुद सेवा आय घाटामा रहे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम छ । प्रतिवेदन अनुसार वैशाखसम्म खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो आय ८८ अर्ब १८ करोड रुपियाँले घाटामा थियो । 

सेवा खाता अन्तर्गत विदेशी नागरिकले नेपाल भ्रमणबापत हुने आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । २०७९ वैशाखमा यस्तो आय २६ अर्ब ७७ करोड रुपियाँ थियो । नेपालीले विदेश भ्रमणबापत गर्ने खर्च भने बढेर एक खर्ब दुई अर्ब नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपियाँ थियो । 

बचतमा शोधनान्तर

विपे्रषणमा आएको वृद्धिले शोधनान्तर स्थिति बचतमा पुगेको छ । वैशाखसम्म नेपालबाट बाहिरिनेभन्दा भित्रने रकम अर्थात् शोधनान्तर अवस्था दुई खर्ब १४ अर्ब ६७ करोड रुपियाँले बचतमा छ । जुन गत आवको वैशाखसम्म दुई खर्ब ८८ अर्ब ५० करोड रुपियाँले घाटामा थियो । नेपाल र अन्य देशबिच हुने कारोबारको हिसाबकिताब राखिने चालु खाता भने ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा छ । वैशाखसम्म चालु खाता ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा देखिन्छ । यद्यपि गत आवको वैशाखसम्मको तुलनामा चालु खाता घाटामा धेरै नै सुधार आएको देखिन्छ । गत वैशाखसम्म चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोड रुपियाँले घाटामा थियो । 

विदेशी मुद्रा सञ्चिति सहज

बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाब भोग्न सुरु गरेको अर्थतन्त्र अहिले भने सहज अवस्थामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार २०७९ असार मसान्तको तुलनामा २०८० वैशाखसम्म विदेशी मुद्रा नेपाली रुपियाँमा २०.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ । १० महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।  

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...