कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि किन रोकियो ?

Published on

काठमाडौं । मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन । चार वर्ष देखि व्यापार मेलाको आयोजना नगरिँदा मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरूको जनजीवन प्रभावित बनेको छ ।

नेपाल र चीनको सीमा क्षेत्र कोरलामा विगतमा हरेक वर्षको दुई पटक व्यापार मेलाको आयोजना हुने गरेको थियो । व्यापार मेलाका पुन सञ्चालनका लागि स्थानीय स्तरबाट भएका प्रयासहरू सफल भएका छैनन् । यहाँ हरेक वर्ष असार र भदौमा गरी दुई पटक एक साता देखि दश दिनसम्म व्यापार मेला आयोजना हुन्थ्यो । व्यापार मेलामा दुवै तर्फका स्थानीयहरू सामान किनमेलका लागि पुग्थे । व्यापार मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेय पदार्थ, चाउचाउ,साबुन,च्याङ्ग्रा, भेडा,चौँरी, फर्निचर,इलेकट्रोनिक्स सामान र निर्माणका सामाग्री, विभिन्न किसिमका कस्मेटिक सामान तथा नेपाली उत्पादन चाउचाउ, हस्तकला, चाँदीका भाँडा, गलैँचा, पस्मिना र यार्सागुम्बाको व्यापार हुने गरेको थियो । मेलाले दुवै देशका नागरिकको सम्बन्धलाई जोड्नुका साथै मेलाले सामानको आयत निर्यात र व्यावसायिक सम्बन्धको विकास गराएको थियो ।

कोरनाका कारण रोकिएको मेला चिनियाँ पक्षले पुनः आयोजना गर्न चासो नदिँदा लोमान्थाङवासीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । मेलाका विषयमा दुवै तर्फबाट स्थानीय स्तरमा बैठक र छलफल भए पनि चीनको केन्द्र सरकार सकारात्मक नभएकाले व्यापार मेला अनिश्चित भएको लोमान्थाङ गाउँपालिका २ छोसेरका वडाध्यक्ष कर्म नामगेल गुरुङले बताउनुभयो । व्यापार मेला हाम्रो परापूर्वकाल देखि सञ्चालन हुँदै आएको हो वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘‘व्यापार मेलाको आयोजना नहुँदा माथिल्लो मुस्ताङमा ठुलो असर परेको छ । जनजीवन प्रभावित भएको छ । खाद्यान्न,निर्माण सामाग्री,लत्ता कपडा दैनिक उपभोग्य वस्तुहरू, केराउ, उवा, बोटे चिया, भोटे नुन आयत नहुँदा अभाव भएको छ । च्याङ्ग्रा आयत नहुँदा समस्या भएको छ । यताबाट नेपाली पस्मिना, जडीबुटी, बासमती चामल,आटा मैदा उता निर्यात बन्द भएको छ ।’’

चार वर्ष देखि व्यापार मेलाको आयोजना नहुँदा दुवै तर्फका स्थानीय व्यापारीलाई समस्या भएको वडाध्यक्ष गुरुङको भनाई छ । उहाँका अनुसार मेला आयोजना हुने आशामा सामान खरिदका लागि व्यापारीले अग्रिम रूपमा पठाएको पैसा उतै फसेको छ । व्यापार मेला नहुँदा व्यावसायीहरु पलायन भएका छन् । मेला नहुँदा दुवै तर्फको स्थानीयहरूको पुर्ख्यौली लेनदेनको सम्बन्धमा समेत असर पुगेको उहाँ बताउनुहुन्छ । कोराला नाका स्थित चीनको भूमिमा लाग्ने व्यापार मेलाबाट लोमान्थाङवासी र लोघेकर दामोदर कुण्डका स्थानीयहरूले ६ महिनालाई पुग्ने लत्ताकपडा,खाद्यान्न र निर्माण सामग्रीहरू आयत गर्ने गरिएको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले बताउनुभयो ।

कोरनाका कारण बन्द भएको व्यापार मेला चिनियाँ पक्षले आयोजना गर्न चासो दिएको छैन गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले भन्नुभयो, ‘‘कोरला नाकामा व्यापार मेला नलाग्दा समस्या भएको छ । लत्ता कपडा, खाद्यान्न, इलेकट्रोनिक्स र निर्माण सामग्री आयत गर्न पाएका छैनौँ । पोखरा हुँदै यहाँ सम्म ल्याउँदा धेरै मङ्गो परेको छ ।’’ चिनियाँ पक्षले कोरला नाकामा निर्माण गरेको भौतिक पूर्वाधारको उद्घाटन गरेपछि व्यापार मेला लगाउने चिनियाँ पक्षले जानकारी दिएको उहाँले बताउनुभयो । कोरला नाकामा चीनले अहिले पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याएको छ ।

पालिका उपाध्यक्ष गुरुङले भन्नुभयो ‘‘नाकामा व्यापार मेला लगाउने बारेमा पटक पटक चिनियाँ पक्षसँग कुराकानी र छलफल गरेका छौँ । तर चिनियाँ पक्ष सकारात्मक देखिएको छैन ।’’ नाकामा नेपालका तर्फबाट कुनै पनि भौतिक पूर्वाधार निर्माण नगरिएकाले तत्काल नाका सञ्चालन हुने सम्भावना पनि छैन । कोरोना महामारीका कारण रोकिएको व्यापार मेला सञ्चालन गर्न पहल गरे पनि सम्भव नभएको मुस्ताङका पूर्व प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘म प्रतिनिधिसभा सदस्य हुँदा कोरना कम भएपछि मेला सञ्चालनका लागि लिखित रूपमा चिनियाँ राजदूतावासमा पत्र लेखेको थिएँ । चीनमा सहज अवस्था नभएकोले मेला सञ्चालन गर्न सम्भव छैन भन्ने जवाफ आयो ।’’

दुवै तर्फका स्थानीयहरू मेला सञ्चालन गर्न सकारात्मक भए पनि चीनको केन्द्र सरकारले तिब्बतको विषयमा नेपालको स्पष्ट धारणा खोजेको छ । पूर्व सांसद तुलाचनले भन्नुभयो,‘‘व्यापार मेलाका समयमा घुसपैठ र सुरक्षा संवेदनशीलता चीनले मुख्य विषय बनाएको हुनसक्छ । त्यसैले व्यापार मेला सञ्चालन गर्न चासो दिएको छैन ।’’नेपाल सरकारले चीनको केन्द्र सरकारसँग मेला सञ्चालनका विषयमा उच्चस्तरीय छलफल गरेर चिनियाँ पक्षलाई सुरक्षाका विषयमा विश्वास दिलाउन सकेमा मात्र व्यापार मेला सम्भव हुने उहाँले बताउनुभयो । चिनियाँ पक्षले कोरला पठारमा त्रिपाल टाँगेर व्यापार मेला सञ्चालन गर्छन् । मेलामा मुस्ताङका स्थानीयहरूलाई आवतजावतका लागि प्रवेश पासको व्यवस्था गरिएको हुन्छ । यसअघि २०७६ असारमा व्यापार मेलाको आयोजना गरिएको थियो । त्यसपछि मेला आयोजना हुन सकेको छैन । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...