समावेशी राज्यको चरित्रलाई सरकारी निकायले अनुसरण गर्नुपर्छ : सञ्चार सचिव सुवेदी

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् रेडियो प्रचार सेवा विकास समितिका अध्यक्ष रामकृष्ण सुवेदीले समावेशी राज्यको चरित्रलाई सरकारी निकायले पनि अनुसरण गर्नुपर्ने बताउनुभएको छ । रेडियो नेपालमा बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ गर्नुहुँदै अध्यक्ष सुवेदीले उक्त कुरा बताउनुभएको हो । विश्व रेडियो दिवसका अवसर पारेर रेडियो नेपालले आजदेखि बज्जिका भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु गरेको हो ।

चौबिसै घण्टा प्रसारण हुँदै आएको रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ । मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटौँ स्थानमा छ ।

यसैगरी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले स्थानीय भाषाबाट समाचार र कार्यक्रम सम्प्रेषण गर्दा सञ्चारमाध्यमप्रति स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस) कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यले सबै भाषाको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भाषा, विषयवस्तु र जनशक्तिमा समावेशी सञ्चारमाध्यमको नमुनाका रूपमा रेडियो नेपाल रहेको बताउनुभयो । तीन वटा प्रसारण केन्द्रसहित हाल सातवटै प्रदेमा प्रादेशिक प्रसारण कार्यालय र ३२ एफएम रिले स्टेसनबाट रेडियो नेपालले देशभर प्रसारण सेवा विस्तार गरेको छ । रेडियो नेपाल ९३ प्रतिशत जनताको पहुँचमा पुगेको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । रेडियो नेपालको पहुँच शतप्रतिशत भूभाग र नागरिकमाझ पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको रेडियो नेपालले जनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...