मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

Published on

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सो अवधिमा ४८ जना स्क्रब टाइफसबाट पनि प्रभावित भएका छन् ।डेङ्गु सङ्क्रमितमध्ये ११६ जना पुरुष र १०२ जना महिला छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र हेटौँडा उपमहानगरपालिका रहेको छ, जहाँ १६९ जना सङ्क्रमित भएका छन् । यस्तै, भीमफेदी गाउँपालिकामा १७ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकामा ९, ९ जना, बकैया गाउँपालिकामा तीन जना तथा बागमती र कैलाश गाउँपालिकामा २, २ जना सङ्क्रमित भएका छन् । राक्सिराङ गाउँपालिकामा एक जना डेङ्गु सङ्क्रमित फेला परेको छ भने अन्य जिल्लाका छ जना बिरामी पनि यहाँ उपचारका क्रममा पहिचान भएका छन् ।

 थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा भने हालसम्म डेङ्गु सङ्क्रमण देखिएको छैन । स्क्रब टाइफसबाट हेटौँडा उपमहानगरपालिकामै सबैभन्दा बढी २६ जना प्रभावित भएका छन् । मकवानपुरगढीमा सात जना, बकैयामा चार जना तथा बागमती, कैलाश, भिमफेदी र राक्सिराङ गाउँपालिकामा २, २ जना सङ्क्रमित रहेका छन् । अन्य जिल्लाका दुई जना स्क्रब टाइफसका बिरामी पनि भेटिएका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेका अनुसार जनचेतनामूलक कार्यक्रम तथा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएकाले हाल सङ्क्रमण दर केही घटेको छ ।  तर, वर्षायाम सुरु भएसँगै जोखिम पुनः बढ्न सक्ने उहाँको भनाइ छ । “पानी पर्ने सिजन सुरु भइसकेको छ, अब विस्तारै सङ्क्रमण दर बढ्न सक्छ,” अधिकृत घिमिरेले भन्नुभयो । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०, ८१ मा ८९१ जनामा डेङ्गु देखिएको थियो भने २०८१/८२ मा यो सङ्ख्या बढेर २ हजार ६८८ पुगेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सङ्क्रमण दर तीन गुणाले बढेको भए पनि चालु आर्थिक वर्षमा भने केही कमी आएको देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...