प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

Published on

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बुधबार आयोजित विशेष समारोहबीच गृहमन्त्री सुधन गुरूङले प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त हुनुभएका प्रहरी महानिरीक्षक केसीलाई हार्दिक बधाई दिनुहुँदै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर नवनियुक्त प्रहरी महानिरीक्षक केसीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरूङले प्रहरीले नागरिकसँग सहकार्य गर्दै निर्वाह गरेको भूमिकाले नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ हुँदै गएको चर्चा गर्दै त्यसको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नेपाल प्रहरीको सुदृढीकरणको साथसाथै गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । साथै नयाँ नेतृत्वले संगठनलाई थप मजबुद बनाउने र सम्पूर्ण प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।

  कार्यक्रममा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी सुम्पिनुभएकोमा नेपाल सरकार प्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुभयो । साथै संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्याङ्कन नेपाली जनतालाई के दिन सके भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवम् भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपद् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरूवा बढुवामा निष्पक्षता लगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरूरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडको महामारी तथा शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।  हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यो सबै कामहरू गर्नको लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्टकृत र मनोबल युक्त बनाउनुपर्नेछ ।’ प्रहरी कर्मचारीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने र अरू योजनाहरू क्रमश लागू गर्ने अवस्था बनाउँदै जाने उहाँले बताउनुभयो । आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध नै महत्वपूर्ण स्रोत भएको चर्चा गर्दै आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई प्रभावबाट मुक्त राख्न उहाँले नेपाल सरकारसँग सहयोग तथा आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा गृहसचिव केदारनाथ शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक केसीले बुधबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक केसी नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।

प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो । साथै प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीको उपस्थितिमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी महानिरीक्षक पदमा डा.मनोज कुमार केसीलाई नियुक्त गर्ने निर्णय भएको सुखद अवसरमा नेपाल सरकारलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्ने निर्णय गरिएको छ । यसैगरी देशमा शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन विस्तृत सुरक्षा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने सम्बन्धमा मातहतलाई निर्देशन दिने समेत नीति निर्माण समितिको बैठकमा निर्णय गरिएको छ ।

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको सङ्क्षिप्त जीवनी : 

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी नेपाल प्रहरीको ३४औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

नुवाकोट जिल्लाको साविक तुप्चे-२ हाल बिदुर नगरपालिका वडा नम्बर ७ मा बुबा अशोक कुमार केसी र माता शान्ति केसीको कोखबाट वि.सं. २०३२ साउन २८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीका श्रीमती सर्‌यू केसी र छोरा अन्सुमन केसी हुनुहुन्छ । प्रहरी महानिरीक्षक केसीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक केसी २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिजमा विद्यावारिधी गर्नुभएका प्रहरी महानिरीक्षक केसीले पिसकिपिङ एण्ड इन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, लजिस्टिक सपोर्ट टु युएन पिस किपिङ अपरेसन्स्, ग्लोबल टेरोरिजम, इन्टरनेशनल ह्युमेनेटेरियन ल एण्ड ल अफ आर्म्ड कन्फ्लिक्ट, सेक्युरीटि मेजर्स फर युएन पिसकिपर्स, हस्तक्षेप र व्यवस्थापनका सिद्धान्तहरू, इन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्स, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, व्यवस्थापन र विकास तालिम, मास्टर ट्रेनिङ अफ ट्रेनर्स, स्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट लगायत विभिन्न १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक केसी प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक केसीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा दंगा नियन्त्रण प्रहरी गण मुख्यालय बर्दिबास महोत्तरी, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, जिल्ला प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय काठमाडौं, अञ्चल प्रहरी कार्यालय राप्ती, जिल्ला प्रहरी कार्यालय धादिङ, महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय रूपन्देही, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी प्रधान कार्यालय नक्साल लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कमाण्ड गर्नुभएका केसी २०८२  वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कमाण्ड समेत गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...

गौरमा युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार, अवस्था गम्भीर

रौतहट । रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक युवक गम्भीर घाइते भएका...