जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री भएको बताउनुभएको छ ।

नेपाल जाइका अलमनाई एसोसिएसन (जान) को ५०औँ वार्षिक समारोहको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको प्राविधिक क्षेत्रको जनशक्ति विकास, जलविद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माण, कृषि क्षेत्र र पूर्वाधार विकासलगायत क्षेत्रमा जापानले पुर्‍याएको योगदानको नेपालले सदैव उच्च मूल्याङ्कन गरेको बताउनुभयो । “मुलुकमा भएको राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक, सांस्कृतिक तथा विकासका अन्य क्षेत्रमासमेत प्रगति भइरहेको छ । यस प्रक्रियामा जापान सरकारको सहयोग र सद्भाव विगतमा जस्तै आगामी दिनमा पनि महत्त्वपूर्ण रहने छन्”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले नेपाल र जापानबिच परम्परागत रूपमा सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै एसियाको एक संवृद्धशाली प्रजातान्त्रिक मुलुक जापानले विज्ञान प्रविधिको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक तथा समग्र मानव विकासमा मारेको फड्को अनुकरणीय रहेको बताउनुभयो ।

विगत छ दशकदेखि नेपाल जापानको सम्बन्धलाई जनतासम्म पुर्‍याउन, जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउन एसोसिएसनले गरेको योगदान सराहनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । उहाँले जानले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्न सामुदायिक विकासका क्षेत्रमा काम गरिरहेको भन्दै यस्ता कामलाई थप विस्तार गर्दै लैजानुपर्ने सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्न सामुदायिक विकासका लागि गरिएका कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जापानबिचको मित्रतालाई अझै घनिभूत बनाउन जानको भूमिका महत्त्वपूर्ण रहेको भन्दै जापान नेपालको भरपर्दो विकासको सहयात्री पनि भएको बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा। वैकुण्ठ अर्याल, नेपालका लागि जापानका राजदूत युताका किकुता, जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबो, जापान नेपाल समाजका अध्यक्ष मित्सुआकी, जानका अध्यक्ष डा। रामचन्द्र भुसाललगायतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । रासस

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...