वर्षासँगै परेको हिउँले मनाङी कृषकमा खुशी

Published on

काठमाडौं । आकाशतिर नजर लगाउन थालेको तीन महिनापछि मनाङीले राहत महसुस गरेका छन् । आकाशबाट परेको वर्षा र सँगै परेको हिउँले यतिबेला मनाङी कृषकहरु खुशी भएका छन् ।

गत बुधबार साँझदेखि परेको हिमपातले यहाँका घर र डाँडा सेताम्मे बनेका छन् । झिसमिसेमै उठेर आकाश हेर्दा डाँडा सेताम्मे भएको मनाङ पिसाङका स्थानीय याङ्डु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजभोलि त प्रकृतिले जिस्काएजस्तै लाग्न थालेको थियो तर तीन महिनापछि राम्रैगरी हिमपात भएको छ ।’ समयमै हिमपात नहुँदा प्रकृतिले आफ्नो आहारा खोसेको गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, ‘बारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन । हिउँदे सिजनमा झन सुख्खा हुन्छ । चरम गरिबीको भागेदार हुनुपरेको छ ।’ गुरुङ गरिब हुनुको दोष प्रकृतिलाई दिनुभयो । ‘समयमै पानी, हिमपात परेको भए अन्नबाली सप्रने, पशुका लागि घाँस पलाउने हुन्थ्यो’ उहाँले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाको आयस्रोत यार्सागुम्बा र जडिबुटी हो । अन्नबाली एक महिनालाई पनि नपुग्ने स्थानीयको जीविकोपार्जन पशुपालन तथा यार्साबाटै हुन्छ । तर, केही वर्षयता यार्सा उत्पादनमा कमी आउँदा अर्थतन्त्र डामाडोल भएको गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । समयमा हिमपात नहुँदा बाह्रैमास सेताम्य भइरहने नार्पाभूमिका डाँडा कालापहाड भएको उहाँले बताउनुभयो । ‘पुसको महिना हिमपात भएमा चैतदेखि नै यार्सा उम्रन थाल्छ’ अध्यक्ष लामाले भन्नुभयो, ‘जटामसी, वन लसुन, निरमसीजस्ता जडिबुटी पनि समयमै हिमपात नभए धेरै कम पाइन्छ ।’ केही वर्षयता समयमा पानी नपर्ने, लामो समय खडेरी पर्ने, जमिन भिज्नेगरी हिउँ नपर्ने हुँदा बालीनालीमा समेत रोग लाग्ने गरेको छ । मौसम परिवर्तनले बालीनालीको उत्पादनमा ह्रास आउने र खाने मुखहरू बढ्दै जाँदा भोकमरीको जोखिम बढेको पालिकाको बुझाइ छ ।

कृषि ज्ञान केन्द्र मनाङका अधिकृत घनश्याम गैरेले यसै पनि खाद्यान्न अपुग हुने मनाङमा तीन महिनासम्म हिउँ नपर्दा खाद्य संकट आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तल्लो मनाङ बाहेकका ठाउँमा केही वर्षयतादेखि नै उत्पादन घटिरहेको छ । यस वर्ष पनि खाद्यान्न उत्पादन घट्ने देखिन्छ ।’ मनाङमा धान, मकै, कोदो उत्पादन हुँदैन । जौ, गहुँ, करु, फापर, उवा र आलु यहाँको प्रमुख उत्पादन हुने बाली हुन् । हिउँले यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...