काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह पर्सि आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जानुहुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी गराएको हो । परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्री शाहको भ्रमण टोलीमा नेपाल सरकारका तर्फबाट ३४ जना सदस्य सहभागी हुनेछन् । यसबाहेक आफ्नै खर्चमा थप ५२ जना पनि भारत जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानमार्फत पर्सि दिउँसो पौने २ बजे नयाँदिल्ली प्रस्थान गर्ने तालिका छ । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार बिहान द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटवार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ ।
यसैगरी भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत तय भएको छ ।
परराष्ट्र सचिव राईका अनुसार भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन तथा केही परियोजनाको शिलान्यास गरिनेछ । विशेषगरी ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनालाई भ्रमणमा प्राथमिकता दिइएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर तथा आदानप्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
सचिव राईले प्रधानमन्त्री शाहको भारत भ्रमणले नेपाल र भारतबीचको साझेदारीलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन योगदान गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार बेलुका स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

