कृषकलाई आलु लगाउने चटारो

Published on

काठमाडौं । हिउँद लागेसँगै जाडो छल्न बेँसी झरेका र काठमाडौँ, पोखरालगायतका सहर पसेका मनाङी कृषकहरू अहिले गाउँ फर्केर आलु रोप्नमा व्यस्त रहेका छन् ।

दुई हप्ताअघि परेको हिमपातले जमिन गलेको र खेतीपातीको सिजन पनि भएकाले उनीहरू आफ्नै गाउँ फर्किएका हुन् । जौ, गहुँ, आलु, उवा, करु, फापर फल्ने मनाङमा आलु मुख्य खेतीका रूपमा मानिन्छ । जमिन भिजेर चिसो भएको तथा आलु लगाउने सिजन पनि भएकाले नासो तथा चामे गाउँपालिकाका किसान यति बेला आलु लगाउन व्यस्त छन् । नासो गाउँपालिका–५ का वडा सदस्य फूलमाया विकले आफूहरू आलु रोप्न व्यस्त भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जमिन भिजेर आलु रोप्न ठिक्क भएको छ, यति बेला पालिकाभरिका किसान सबै आलु रोप्न व्यस्त छन् । मैले पनि आफ्नो बारीमा एक हप्ता लगाएर आलु रोपिसकेँ ।’ नासोका ओडार, तिल्चे, नाचै तथा ताचै बढी आलु फल्ने क्षेत्र हुन् । थोँचेमा पनि आलु खेती गरिन्छ । नासो –५ का वडाध्यक्ष थुतेन लामाले आफ्नो सानो बारीमा आलु रोपिसकेको बताउनुभयो । कृषि ज्ञान केन्द्र मनाङले पनि किसान आलु रोप्न व्यस्त भएको जनाएको छ । कृषि ज्ञान केन्द्र मनाङका अधिकृत घनश्याम गैरेले किसानलाई बारीमै गएर आलु रोप्ने तरिका सिकाएको बताउनुभयो । अधिकृत गैरेले कसरी आलु लगाउँदा बढी उत्पादन हुन्छ, मलको मात्रा, चिस्यानको अवस्था तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको बताउनुभयो ।

आलु मात्र नभएर यतिबेला मनाङमा स्याउ बगैँचा गोडमेलको चटारो परेको छ । हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छ । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन् अनि नाङ्गै बन्छन् स्याउका बोट  । त्यसपछि माघ र फागुनमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँचा व्यवस्थापन गर्ने चटारोमा छन् । मनाङको नासो, चामे, ङिस्याङ तथा नार्पाभूमिमा स्याउ बगैँचा व्यवस्थापन भइरहेको छ । केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीय बेँसी झर्ने हुनाले फागुन १५ गतेपछि मात्र मनाङ ङिस्याङ र नार्पाभूमिका स्याउ बगैँचा व्यवस्थापन गरिने कृषकको भनाइ छ ।

जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका धेरैजसो किसान स्याउखेती गर्छन् । यसबाट कृषकले राम्रै आम्दानी गर्नेगरेको उहाँहरूको भनाइ छ । अरू खेतीको तुलनामा कम झन्झटिलो स्याउले यहाँको आर्थिकस्तर उकास्न पनि योगदान गरेको कृषकको बुझाइ छ । फागुन महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । बर्सेनि मनाङका किसानलाई कृषि ज्ञान केन्द्रले प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र फिल्डमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेको छ । बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्रका अधिकृत घनश्याम गैरेले बताउनुभयो ।

‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ’ गैरेले भन्नुभयो, ‘स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढवा गर्न टेवा पुग्छ ।’ बगैँचा व्यवस्थापन गर्दा कृषकले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्स्चर छर्किने गरेका छन् । यसोगर्दा स्याउ बोटमा सङ्क्रमण कम हुन्छ । हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्स्चर प्रयोग गर्नगरेको कृषकको भनाइ छ ।

ताजा समाचार

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक...

हवाई टिकटमा भ्याट हटाउन माग

काठमाडौं । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउनुपर्ने निजी क्षेत्रले माग...

शव खोज्न सगरमाथातर्फ नेपाली सेना

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै...