प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन : तीन मन्त्रीको शपथ

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति भवनमा आयोजित शपथ समारोहमा राष्ट्रपति पौडेल समक्ष बिना विभागीय मन्त्री नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्डले यसअघि सोमबार दिउँसो मौजुदा मन्त्रिपरिषद्‍ फेरबदल गर्दै तीन सदस्यीय बिना विभागीय मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिस अनुसार नियुक्त भएका तीन मन्त्रीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। २०७९ पुस ११ गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएपछि १३ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। २०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गते सोमबारसम्म ६ गरेर १३ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको हो। २०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भएको थियो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले जेठ १० गते पूर्णता पाएको थियो।

को हुन् नयाँ मन्त्री

अनुभवी नेता हितबहादुर तामाङ

नेकपा (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङ बुवा माइते तामाङ र आमा श्रीमाया तामाङका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०२० जेठ १५ गते नुवाकोटमा भएको हो। २०३७ सालदेखि राजनीतिमा सक्रिय उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हुनुहुन्थ्यो। २०४९ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला सचिव बन्नुभएका उहाँले २०४७ सालमा ने।क।पा।को चौथो महाधिवेशनबाट सदस्यता लिनुभयो। २०५२ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव बन्नुभएका तामाङ २०५३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्य बन्नुभयो। २०५८ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका उहाँ २०६३ माघ १ मा अन्तरिम व्यवस्थापिका सदस्य बन्नुभयो। तामाङसँग यसअघि २०६६ सालमा युवा तथा खेलकुद मन्त्री बनेको अनुभव छ। २०७४ मा प्रतिनिधि सभा सदस्य बन्नुभएका उहाँ २०७९ सालमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य बन्नुभयो। एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गर्नुभएका उहाँसँग शिक्षा, भौतिक पूर्वाधार र पर्यटन क्षेत्र सम्बन्धी विशेष ज्ञान रहेको छ।

एमाले युवा नेता पदम गिरी

नेकपा ९एमाले०का प्रमुख सचेतक पदम गिरी बुवा बले गिरी र माता सिताकुमारी गिरीका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३३ साल फागुन २८ गते पवर्तमा भएको हो। २०४७ सालमा अनेरास्ववियुको विद्यालय कमिटीबाट उहाँ संगठित हुनुभएको हो। २०४७ सालमा उहाँ पर्वतको काफलचौरु माविबाट अनेरास्ववियुमा संगठित हुनुभएको हो। २०५५ सालमा पृथ्वीनारायण क्याम्पसमा उहाँ स्ववियु सदस्य बन्नुभयो। त्यसपछि उहाँले स्ववियुको उपसभापति हुँदै सभापतिको जिम्मेवारी सम्हाल्नुभयो। क्याम्पसको राजनीति हुँदै उहाँ नेकपा जिल्ला कमिटी पवर्तनको सदस्य, जिल्ला कमिटी अध्यक्ष बन्नुभयो। २०४७ सालको निर्वाचनमा उहाँ पहिलो पटक संघीय संसदमा निर्वाचित हुनुभयो। २०७९ सालको निर्वाचनमा उहाँ पवर्त क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो। उहाँसँग स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेको अनुभव छ। स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका नेता गिरी एमालेभित्र प्रभावशाली युवा नेताको रुपमा परिचित हुनुहुन्छ। पार्टी केन्द्रीय सदस्य गिरी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक हुनुहुन्छ।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोरप्रसाद अर्याल बुवा यामराज अर्याल र आमा गुणमाया अर्यालका सुपुत्र हुनुहुन्छ। उहाँको जन्म २०३१ साल भदौ ६ गते धादिङमा भएको हो। राजनीतिमा सक्रिय भएको छोटो अनुभव भए पनि उहाँसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मन्त्रिपरिषद्मा रहेर काम गरेको अनुभव छ। उहाँले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेर काम गरिसक्नु भएको छ। २०७९ माघ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको थियो। उहाँसँग पर्यटन र विप्रेषण क्षेत्रमा दुई दशकदेखि काम गरेको अनुभव छ।

१४ महिनामा १३ औं पटक मन्त्रिपरिषद् हेरफेर

२०७९ पुस ११ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभएपछि १३ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको छ। ०७९ को पुसदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो। २०८० सालको वैशाखदेखि फागुन २१ गतेसम्म ६ पटक गरेर १३ औं पटक मन्त्रिपरिषद् हेरफेर भएको हो। ०७९ पुस ११ गते गठन भएको मन्त्रिपरिषद् माघ ३, १४, २३, फागुन १४ र १६, चैतको १७ गते विस्तार भयो। त्यसैगरी २०८० साल वैशाख ३, २१, २४ जेठ ९ गते फेरबदल भएको मन्त्रिपरिषद्ले साउन २८ पूर्णता पाएको थियो।

प्रचण्ड मन्त्रिपरिषद्‍मा फेरबदलको शृङ्खला

२०७९ मंसिर ४ गतेको आम निर्वाचनपछि प्रचण्ड पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभयो। पुस ११ गते प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्र, नेकपा (एमाले)र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक–एक वटा उपप्रधानसहित सत्ता भागबण्डा भयो। प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्रीमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। एमालेका चार मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्रालयको कार्यभार पछि तोक्ने गरी नियुक्त हुनुभएको थियो

माघ ३ गते प्रचण्ड मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधानसहित चार मन्त्रालय पाएको थियो। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बन्नुहुँदा विक्रम पाण्डे सहरी विकास, ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला र दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री बन्नुभएको थियो। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा एमालेबाट डा। विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री बन्नुभयो। माओवादी केन्द्रले तीन मन्त्रालय पाएको थियो। माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र डा। तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राज्यमन्त्री बन्नुभएको थियो। अघिल्लो पटकको विस्तारमा कार्यभार नपाएका एमालेका ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, राजेन्द्रकुमार राईलाई भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण, दामोदर भण्डारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको थियो। जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बन्नुभएको थियो।

नागरिकता विवादले रवि लामिछानेको राजीनामा नागरिकता विवाद प्रकरणपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले माघ १३ गते राजीनामा दिनुभयो। लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएपछि माघ २२ गते रास्वपाका अन्य मन्त्रीले राजीनामा दिए। राप्रपा र एमालेका मन्त्रीको राजीनामा फागुन १३ गते राप्रपाका उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित अरु मन्त्रीले राजीनामा बुझाउनुभयो। फागुन १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका आठ मन्त्रीले राजीनामा बुझाउनुभयो। राष्ट्रपतिको निर्वाचनपछि सत्तामा कांग्रेसको प्रवेश

२०६९ फागुन २५ गते राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चैत ३ गते उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित हुनुभयो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमालेसहितको सरकार गठनमा सहमति नजुटेपछि माओवादी केन्द्र, नेपाली कांग्रेससहितको मन्त्रिपरिषद् विस्तार भएको थियो। २०७९ चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्नुभयो। चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डा। वेदुराम भुषाल कृषि तथा पशुपंक्षी विकास, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुभयो। नेपाली कांग्रेसबाट डा। प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ती, सीता गुरुङ सहरी विकासमन्त्री हुनुभयो।

माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत ऊर्जा, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, जसपाका अशोककुमार राई शिक्षा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री र महेन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुभयो। २०८० वैशाख ३ गते परराष्ट्र मन्त्रीमा कांग्रेसका नारायणप्रसाद साउद नियुक्त हुनुभयो। उहाँसँगै एकीकृत समाजवादीबाट नन्द चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुनुभयो। वैशाख २० गते भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका तर्फबाट धनराज गुरुङ कानुन, मोहनबहादुर बस्नेत स्वास्थ्य र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बन्नुभयो। वैशाख २४ गते कांग्रेसका सुरेन्द्रराज आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक र महिन्द्र राय यादव खानेपानी मन्त्री बन्नुभयो।

जेठ ९ गते जसपाका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र जसपाकै प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी तोकियो। प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले १२ औं पटकको फेरबदलपछि जेठ १० गते पूर्णता पाएको थियो। जेठ १० गतेको पूर्णता पाएको २५ सदस्यीय मन्त्रिपरिषद्‍मा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री प्रचण्डसहित नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती संस्कृति, अमनलाल मोदी संघीय मामिला, सुशीला श्रीपाली संस्कृति राज्यमन्त्री बन्नुभयो।

नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा।प्रकाशशरण महत अर्थ, धनराज गुरुङ कानुन, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य, रमेश रिजाल उद्योग, सीता गुरुङ शहरी विकास, डिगबहादुर लिम्बु खेलकुद र सुरेन्द्रराज आचार्य महिला मन्त्री बन्नुभयो। नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डा। वेदुराम भुषाल कृषि, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात र नन्द चपाई भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभयो। जनता समाजवादीका अशोक राई शिक्षा, वीरेन्द्र महतो वन र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री हुनुहुन्थयो। लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी श्रम, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था र महिन्द्रराय यादव खानेपानी मन्त्री हुनुहुन्थ्यो।

ताजा समाचार

छत्तिसगढ भिडन्तमा मारिने नक्सलवादीकाे संख्या १८ नाघ्याे

छत्तीसगढ, ५ बैशाख । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको...

आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो...

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक...

हवाई टिकटमा भ्याट हटाउन माग

काठमाडौं । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउनुपर्ने निजी क्षेत्रले माग...