कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

Published on

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो।

उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, “हाम्रो कार्य सम्पादन समितिको बैठकमा विशेष गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जुन समर्थन गरेका थियौँ, विश्वासको मत दिएका थियौँ, आज यो बैठकबाट समर्थन फिर्ता लिएका छौँ।” प्रधानमन्त्रीलाई असहयोग भयो भन्ने जिज्ञासामा उहाँले मन्त्रीबाट असहयोग भएजस्तो नलागेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, “समर्थन फिर्ताको कारणपट्टि नजाऔँ, धेरै कारण छन्। हामीले दिएको समर्थन फिर्ता लियौँ, धेरै भनिरहनु पर्दैन। मन्त्रीबाट असहयोग भयो जस्तो मलाई लाग्दैन। अनौपचारिक वार्ता पनि पटक–पटक भयो। मन्त्रीको कारणभन्दा पनि राजनीतिक चलखेल, नेपालको राजनीतिक प्रवृत्ति नै हो।”

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पाँच बुँदे निर्णय पनि सार्वजनिक गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहालको नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय गर्दछ ।’’ कांग्रेसले आफ्नो प्रेस विज्ञप्तिमा भनेको छ, ‘‘२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको म्याण्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो । तर त्यो म्याण्डेडलाई कुठाराघात गर्दै दोस्रो पटक पनि उहाँ अविश्वसनीय ढंगले अग्रसर हुनु भएपछि नेपाली कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति रहेन । संविधान रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै, क्रमशः सुधारोन्मुख अर्थतन्त्रमा गति प्रदान गर्दै, नागरिक पंक्तिमा नवीन आशा जगाएर अघि बढ्नुपर्ने समयमा कपोलकल्पित कारण देखाएर गठबन्धन भत्काउनु नियोजित देखिएको त छ नै प्रधानमन्त्रीको यो कदमले अन्यौल र अस्थिरतालाई बढावा दिएको छ । कार्यसम्पादन समितिको यो बैठक यो घटनालाई गम्भीर ढंगले लिंदै संसदमा प्रतिपक्षको भुमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय गर्दछ ।’’

यसैगरी, बैठकले २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ मा उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...