रुपैडिहा भन्सारमै रोकिए पेट्रोलियम ड्रिलिङ उपकरण

Published on

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्यको मुख्य ड्रिलिङका लागि ल्याउन लागिएको उपकरण बाँकेको रुपैडिहा भन्सारमा रोकिएको छ ।

उपकरणको भन्सार छुटको पत्र नहुँदा ती सामग्री रोकिएका हुन् । चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा सम्पूर्ण कर तथा महसुल छुट गरिदिन अर्थ मन्त्रालयलाई पत्र पठाइए पनि भन्सार छुटको पत्र प्राप्त नभएको बताइन्छ । अर्थ मन्त्रालयले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा भन्सार छुटको निर्णय माघ २१ गते गरिसकेको बताइन्छ । भन्सार विभागले भने खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या देखिएको परियोजनाले जनाएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक पर्ने १० ट्रक ड्रिलिङका मेसिन चीनबाट भारतको कोलकाता हुँदै रुपैडिहा नाकामा ल्याइएको बताउनुभयो । अर्थ मन्त्रालयले भन्सार छुटको निर्णय नगरिदिँदा उपकरण भन्सारमै रोकिएको जनाइएको छ । उहाँले चाइना जिओलोजिकल सर्भे कम्पनीका नाममा निर्णय भई भन्सार विभागमा गएको भए पनि भन्सार विभागले खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको निर्णय हुनुपर्ने भन्दै फिर्ता पठाएपछि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन गर्ने दुई देशबिच सम्झौता हुँदा भन्सार नलाग्ने निर्णय भएको छ । त्यही अनुसार हामीले विगतमा सामग्री ल्याउँदा चाइना जिओलोजिकल सर्भेकै नाममा भन्सार छुट पत्र बनाएर सामान ल्यायौँ । अहिले भन्सार विभागले किन खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुट माग्यो, थाहा भएन ।”

उहाँका अनुसार खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाकै नाममा भन्सार छुटको पत्र बनाउन माघ २१ गते अर्थ मन्त्रालयमा पत्र पठाइए पनि हालसम्म निर्णय नहुँदा अन्वेषणका लागि आएका सामग्री भन्सारमै रोकिएको छ । अर्थमन्त्रीले निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने नापितले जानकारी दिनुभयो  । रुपैडिहा नाकाबाट दैलेखसम्म मेसिन ल्याउन आठ दिन लाग्छ । सबै मेसिनको पार्टपुर्जा टुक्रा टुक्रा पारिएकाले जडान गर्न समय लाग्छ । त्यस कारण पनि भन्सार छुटको निर्णय छिटो भएको खण्डमा सरकारले म्याद थपेको अवधिमै उक्त काम हुने अपेक्षा आयोजनाको छ ।

ड्रिलिङ गर्न पूर्वाधार निर्माण

पेट्रोलियम उत्खननको अन्तिम ड्रिलिङका लागि भैरवी गाउँपालिका–१, जलजलेमा पूर्वाधार निर्माणका काम यतिबेला धमाधम भइरहेको छ । मेसिन जडान गर्ने स्थानमा फिल्ड निर्माण, माटो कटिङ, जग्गा सम्याउनेलगायत कार्य सकिएको छ । यसअघिका दुई चरणको अध्ययनले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरेको छ । अब तेस्रो चरण अन्तर्गत पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ । करिब तीन सय किलोमिटरको हाराहारीमा तीन हजारभन्दा बढी स्थानमा ड्रिलिङ गरी विस्फोटको माध्यमबाट तरङ्ग पठाई गरिने अध्ययनबाट आएको जानकारी प्रशोधन गरी खानीको भण्डारण क्षेत्रबारे निक्र्योल गरेर ड्रिलिङका लागि स्थान तय गरिएको हो । सोहीबमोजिम जलजलेमा काम भएको छ । चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लाग्ने छ । अन्तिम चरणमा हुने ‘ड्रिलिङ’ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण्डारण छ भन्ने पत्ता लाग्ने छ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा उत्खनन योजना अघि बढ्ने जनाइएको छ ।

मोड सुधार गरिँदै

पेट्रोलियम पदार्थको अन्वेषणका लागि ठुला उपकरण ल्याउन कर्णाली राजमार्गका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सूचना अधिकारी (इन्जिनियर) टोपनारायण पौड्यालका अनुसार सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउने काम ७५ प्रतिशत सकिएको छ । चैत मसान्तसम्म सडक सुधारका सबै कार्य सकिने छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्भे कम्पनीबिच २०१९ फेब्रुअरी २८ मा भएको सम्झौताको अवधि सन् २०२२ फेब्रुअरी २८ सकिएसँगै २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुई वर्ष म्याद थप गरेको थियो । २०७८ चैत १४ गते बसेको मन्त्रीपरिषद्ले दुई वर्ष म्याद थपको निर्णय फागुन १६ गते सकिएपछि पुनः एक वर्ष म्याद थप गरिएको जनाइएको छ ।

ताजा समाचार

लवाङ्गी पूजा गरेर नयाँ धानको भात

काठमाडौँ । थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

काठमाडौँ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक...

वडालाई सबल र व्यवस्थित बनाउनेछु

मंसिर १६ गते देशभर स्थानिय तहको उपनिर्वाचन हुँदैछ । १६ गते हुने उपनिर्वाचनमा स्थानिय...

नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत

काठमाडौँ । रामेछाप गेलुका उज्ज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग...