राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

Published on

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

बैठकमा दाहालको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो । राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेस गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित हुनुभएको हो । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा १७ मत र विपक्षमा ३९ मत परेको थियो । शर्माको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा १७ र विपक्षमा ३९ मत परेको हो । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को एक मत परेको छ । राष्ट्रिय सभामा हाल ५८ सदस्य कायम छन् । राष्ट्रिय सभामा अध्यक्ष पक्ष पदको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका सांसद टुलप्रसाद विश्वकर्मा अनुपस्थित रहनु भयो भने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले बैठकको अध्यक्षता गर्नुभएकाले मतदान गर्नु भएन । कुल ५९ सदस्यीय राष्ट्रिय सभामा एक सांसदको मनोनयन हुन बाँकी छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी रहेको छ ।

यसअघि सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गर्नुभएको थियो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको हो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ३० गते बस्नेछ ।

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...