म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनुपर्ने अभियान

Published on

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।

पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताउनुभयो । “परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुर्ख्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ”, उहाँले भन्नुभयो । भेडाबाख्रा पाल्दै आउनुभएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताउनुभयो । घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।

ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा सङ्कटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन छ । भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुर्ख्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताउनुभयो । पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उहाँको भनाइ छ ।

ती समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुर्ख्यौली सोरठी, मादले मारुनीलगायतका नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक पुर्ख्यौली नाचले स्वागत गर्ने गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो । “पुर्ख्यौली र परम्परालाई मासिन नदिन हामीले अग्रसरता लिएका छौँ, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन, यसले छन्त्याल समुदायको कला, संस्कृति र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, वडासदस्य छन्त्यालले भन्नुभयो । वडा कार्यालयले समेत मौलिक भेषभूषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ । रासस

ताजा समाचार

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक...

हवाई टिकटमा भ्याट हटाउन माग

काठमाडौं । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउनुपर्ने निजी क्षेत्रले माग...

शव खोज्न सगरमाथातर्फ नेपाली सेना

काठमाडौं । सगरमाथा आरोहणका क्रममा दुर्घटनामा परी बेपत्ता भएका आरोहीका शव खोज्न नेपाली सेनाको...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन : उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा चैत २७ गते मङ्गलबार उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै...