म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनुपर्ने अभियान

Published on

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।

पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताउनुभयो । “परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुर्ख्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ”, उहाँले भन्नुभयो । भेडाबाख्रा पाल्दै आउनुभएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताउनुभयो । घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडाबाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।

ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडाबाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा सङ्कटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रुपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन छ । भेडाबाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुर्ख्यौली पेसाको रुपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताउनुभयो । पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उहाँको भनाइ छ ।

ती समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुर्ख्यौली सोरठी, मादले मारुनीलगायतका नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक पुर्ख्यौली नाचले स्वागत गर्ने गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो । “पुर्ख्यौली र परम्परालाई मासिन नदिन हामीले अग्रसरता लिएका छौँ, युवापुस्ता समेत आफ्ना पुर्खाका कला, संस्कृति, परम्परा र पेसाको जगेर्ना गर्न लागिपरेका छन, यसले छन्त्याल समुदायको कला, संस्कृति र जनजीवनलाई नयाँ पुस्तामा सीप र संस्कार हस्तान्तरणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, वडासदस्य छन्त्यालले भन्नुभयो । वडा कार्यालयले समेत मौलिक भेषभूषा, कला संस्कृति र परम्पराको जगेर्ना गर्न स्थानीय आमा समूहलाई पोसाक उपलब्ध गराएको छ । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...