फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड

Published on

काठमाडौं । प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ । पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पु र्‍याइसकेको छ । जनजीवन प्रभावित पार्न थालिसकेको छ ।

गए राति मोरङको पथरी शनिश्चरे–१ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा आगलागी हुँदा रु। एक करोडभन्दा बढीको क्षति भयो । शनिबार पनि मोरङकै रङ्गेली–३ बाबुसाहेब टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेर नष्ट भए । २५ परिवार विस्थापित नै भएका छन् । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ भोर्लेनीस्थित नवउदय सामुदायिक जङ्गलमा आगो फैलिएर सोही ठाउँ बस्ने छ जनाको घर तथा घरमा रहेको विभिन्न सामान जलेर नष्ट भएको छ । प्राप्त विवरणनुसार शनिबारमात्रै ती जिल्लासहित काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन् । यसपालि हिउँदमा पानी कम परेकाले पनि सुक्खा बढी हुँदा प्रिमनसुनको सुरुआतमै डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ । यो मौसम हावाहुरी, आगलागी, डढेलो, चट्याङ र असिनापानीले सताउने समय हो ।

यस क्षेत्रका विज्ञहरूले पूर्वसचेतना र नियन्त्रणका लागि आवश्यक तयारी गर्न नसके डढेलो र आगलागीले थप क्षति निम्त्याउने चेतावनी नै दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको भन्दै सचेत हुन आह्वान गरेको छ । प्राधिकरणका उपसचिव एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा मानवीय लापरवाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार पछिल्ला दुई वर्ष डढेलो तुलनात्मकरूपमा कम भए पनि यो वर्ष बढ्न सक्ने देखिएको छ । प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले प्राधिकरणकबाट सचेतनाका काम भइरहेको बताउनुभयो । उहाँले पछिल्लो दुई–तीन दिनमा डढेलो र आगलागी एकदम बढेको बताउँदै तीनै तहको सरकार र सबै निकायसँगको समन्वयमा आवश्यक काम अघि बढाउने तयारी गरिएको बताउनुभयो ।

मानिसहरूमा कृषिकर्ममा कमी आएका कारण जङ्गलमा दाउरा, घाँस, पत्कर थुप्रिएर बसेको र त्यसरी थुप्रिएर बसेको ‘फ्युल’मा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्ने खतरा बढेको बताइन्छ । जल तथा मौसमविज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा औँल्याइसकेको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...