जङ्गलमा मानव अतिक्रमण बढ्दै, घाँस प्रजातिका वनस्पति मासिँदै

Published on

काठमाडौं । पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।

जङ्गली जनावरहरूले खाने फलफूल र घाँसका कलिला मुनामा मानव अतिक्रमण बढेपछि पछिल्ला एक दशक यता साज, टाँटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा देखिन छोडेका छन् । अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुट्मिरो, औलिया, रनबाँस सङ्कटापन्न अवस्थामा छन् । फडिर, जामुन, हर्रो, बर्रो, कुम्भी, साज, टाँटरी,कुसुम, अँगेरी, दमाइफल, बनकेरा, बनआँप लगायतका फलफूल जन्य वनस्पति जङ्गलबाट मासिएपछि बाँदर गाउँघर तिर पसेको स्थानीय बताउँछन् । बाँदरले रुचाउने फलजन्य वनस्पति कै घाँस खसीबाख्राका उत्तम मानिन्छ । २० वर्ष अघिसम्म जङ्गलमा जताततै पाइने रानीकुसुम र साज कानेपोखरी–लेटाङ क्षेत्रको जङ्गलमा पाइन छोडेको छ । टाँटरी र कुम्भी पनि क्रमशः मासिँदै गएको कानेपोखरी–७ का पदमप्रसाद कोइरालाले बताउनुभयो । ५० वर्षीय कोइरालाले भन्नुभयो, ‘‘हामी विद्यालय पढ्दा टिफिनमा खाजा नै कुसुम, फँडिरको खान्थ्यौं । एकातिर खाजाखाने पसल थिएन । अर्कोतर्फ बालबालिकालाई पैसा दिने चलन थिएन । अहिले पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ कुसुम, टाँटरी, कुम्भी, साज छैन । व्यावसायिक बाख्रापालन अभियान सुरु भएपछि जथाभाबी बिरुवा काटिन थालेको जानकारहरू बताउँछन् । टाँटरी, कुम्भी, साज, रानीकुसुमलगायतका फल जङ्गलमा देखिन छोडेको कानेपोखरी–४ का तुलसीप्रसाद दाहालले बताउनुभयो ।

कानेपोखरी दक्षिणका गाउँहरूबाट उत्तर तर्फको जङ्गलमा लेटाङ उत्तरका गाउँहरूबाट दक्षिणको जङ्गलमा दैनिक ६ सय बढी साइकल, मोटरसाइकल घाँस लिन जाने गर्छन् । बाख्रापालनका लागि घाँसको व्यवस्थापन जङ्गलबाटै गर्ने हो । तर जङ्गलका ठुला रुखबाट घाँस झार्नेभन्दा साना बुट्यान नै काटेर ल्याउने गर्दा जङ्गलमा घाँस प्रजाति वनस्पति सकिँदै गएको सब डिभिजन वन कार्यालय कानेपोखरीका सहायक वन अधिकृत अल्लाउद्दिन अन्सारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘जङ्गलबाट घाँस ल्याउन रोक्दा पनि राम्रो हुँदैन । त्यसैले सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षारोपण गर्नुपर्छ ।’’ सामुदायिक वन, वैज्ञानिक वन र सरकारी निकायले लोपोन्मुख प्रजातिका बिरुवाको नर्सरी उत्पादन गरेर वृक्षारोपण तिर लाग्नुपर्छ । उहाँले १२ सय रानी कुसुमको बिरुवा कानेपोखरी सब डिभिजन वन कार्यालयले हुर्काइरहेको बताउनुभयो ।

कानेपाखरी–७ को ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापाले जथाभाबी घाँस ल्याउने व्यवस्थालाई नियन्त्रण गर्न आवश्यक भइसकेको बताउनु भयो । उहाँले भन्नुभयो–घाँसै त हो नि । किन ल्याउन पाइन्न भनेर धेरै पटक उपभोक्ताहरू रिसाउनु भएको छ । तर ठुला रुखका हाँगा काटेर ल्याउनु पर्छ भन्ने चेतनाको विकास भएन । उहाँले उपभोक्तालाई पटक पटक सम्झाएको बताउनुभयो । घाँस काट्नेले मात्र होइन । सालका पात टिप्नेहरूले समेत सालका पोथ्रा ढाल्दै पात टिपेर सडक किनारमा बिक्री गर्ने गरेको पाइएको छ । सामुदायिक वनका एक रुघाँलुले भन्नुभयो, ‘‘जङ्गलमा सखुवाका पोथ्रा काटेर पात टिप्ने अनि पछि आएर घाँस भित्र हालेर पोथ्रा लैजाने क्रम बढेको छ । हामीले धेरै जनालाई सचेत गराएका छौँ ।’’ गोरखापत्र

ताजा समाचार

अनुगमनका क्रममा खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका...

दाङमा मह उत्पादनमा कमी

काठमाडौँ । घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित शिवशक्ति बी कन्सर्नका सञ्चालक विष्णु श्रेष्ठले एक सय ५०...

मन्दिर परिसर सिँगार्दै कलाकार ठाकुर

काठमाडौँ । त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित...

पत्रकार महासङ्घको निर्वाचन जारी

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २७ औं महाधिवेशनअन्तर्गत मतदान भइरहेको छ । शुक्रबार ९...