जङ्गलमा मानव अतिक्रमण बढ्दै, घाँस प्रजातिका वनस्पति मासिँदै

Published on

काठमाडौं । पूर्वी मोरङका राष्ट्रिय बन र सामुदायिक वनमा घाँस प्रजातिका वनस्पतिहरू मासिएका छन् । बनसँग आश्रित बाख्रापालक किसानले साना साना बुट्यान हुर्किन नपाउँदै काटेर लान थालेपछि बनमा घाँस प्रजाति वनस्पतिको बीउ नपाक्ने र नयाँ बिरुवा उम्रिन छोडेपछि घाँस प्रजातिका वनस्पति मासिएका हुन् ।

जङ्गली जनावरहरूले खाने फलफूल र घाँसका कलिला मुनामा मानव अतिक्रमण बढेपछि पछिल्ला एक दशक यता साज, टाँटरी, कुसुम, कुम्भी, बनकेरा, वनआँप लगायतका नयाँ बिरुवा देखिन छोडेका छन् । अझ ठुलो रुख नहुने पोथ्रा प्रजातिका बुट्यान कुट्मिरो, औलिया, रनबाँस सङ्कटापन्न अवस्थामा छन् । फडिर, जामुन, हर्रो, बर्रो, कुम्भी, साज, टाँटरी,कुसुम, अँगेरी, दमाइफल, बनकेरा, बनआँप लगायतका फलफूल जन्य वनस्पति जङ्गलबाट मासिएपछि बाँदर गाउँघर तिर पसेको स्थानीय बताउँछन् । बाँदरले रुचाउने फलजन्य वनस्पति कै घाँस खसीबाख्राका उत्तम मानिन्छ । २० वर्ष अघिसम्म जङ्गलमा जताततै पाइने रानीकुसुम र साज कानेपोखरी–लेटाङ क्षेत्रको जङ्गलमा पाइन छोडेको छ । टाँटरी र कुम्भी पनि क्रमशः मासिँदै गएको कानेपोखरी–७ का पदमप्रसाद कोइरालाले बताउनुभयो । ५० वर्षीय कोइरालाले भन्नुभयो, ‘‘हामी विद्यालय पढ्दा टिफिनमा खाजा नै कुसुम, फँडिरको खान्थ्यौं । एकातिर खाजाखाने पसल थिएन । अर्कोतर्फ बालबालिकालाई पैसा दिने चलन थिएन । अहिले पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ कुसुम, टाँटरी, कुम्भी, साज छैन । व्यावसायिक बाख्रापालन अभियान सुरु भएपछि जथाभाबी बिरुवा काटिन थालेको जानकारहरू बताउँछन् । टाँटरी, कुम्भी, साज, रानीकुसुमलगायतका फल जङ्गलमा देखिन छोडेको कानेपोखरी–४ का तुलसीप्रसाद दाहालले बताउनुभयो ।

कानेपोखरी दक्षिणका गाउँहरूबाट उत्तर तर्फको जङ्गलमा लेटाङ उत्तरका गाउँहरूबाट दक्षिणको जङ्गलमा दैनिक ६ सय बढी साइकल, मोटरसाइकल घाँस लिन जाने गर्छन् । बाख्रापालनका लागि घाँसको व्यवस्थापन जङ्गलबाटै गर्ने हो । तर जङ्गलका ठुला रुखबाट घाँस झार्नेभन्दा साना बुट्यान नै काटेर ल्याउने गर्दा जङ्गलमा घाँस प्रजाति वनस्पति सकिँदै गएको सब डिभिजन वन कार्यालय कानेपोखरीका सहायक वन अधिकृत अल्लाउद्दिन अन्सारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘जङ्गलबाट घाँस ल्याउन रोक्दा पनि राम्रो हुँदैन । त्यसैले सचेतना कार्यक्रम र लोपोन्मुख प्रजातिका बिरुवाको वृक्षारोपण गर्नुपर्छ ।’’ सामुदायिक वन, वैज्ञानिक वन र सरकारी निकायले लोपोन्मुख प्रजातिका बिरुवाको नर्सरी उत्पादन गरेर वृक्षारोपण तिर लाग्नुपर्छ । उहाँले १२ सय रानी कुसुमको बिरुवा कानेपोखरी सब डिभिजन वन कार्यालयले हुर्काइरहेको बताउनुभयो ।

कानेपाखरी–७ को ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवेन्द्र थापाले जथाभाबी घाँस ल्याउने व्यवस्थालाई नियन्त्रण गर्न आवश्यक भइसकेको बताउनु भयो । उहाँले भन्नुभयो–घाँसै त हो नि । किन ल्याउन पाइन्न भनेर धेरै पटक उपभोक्ताहरू रिसाउनु भएको छ । तर ठुला रुखका हाँगा काटेर ल्याउनु पर्छ भन्ने चेतनाको विकास भएन । उहाँले उपभोक्तालाई पटक पटक सम्झाएको बताउनुभयो । घाँस काट्नेले मात्र होइन । सालका पात टिप्नेहरूले समेत सालका पोथ्रा ढाल्दै पात टिपेर सडक किनारमा बिक्री गर्ने गरेको पाइएको छ । सामुदायिक वनका एक रुघाँलुले भन्नुभयो, ‘‘जङ्गलमा सखुवाका पोथ्रा काटेर पात टिप्ने अनि पछि आएर घाँस भित्र हालेर पोथ्रा लैजाने क्रम बढेको छ । हामीले धेरै जनालाई सचेत गराएका छौँ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...