गधा सङ्कटमा

Published on

काठमाडौं । पानी बिक्री गर्न र आफ्नो जीविका चलाउन स्टिव पूर्णतया आफ्ना गधामा निर्भर थिए । ती गधाले पानी भरिएका २० जर्किन लादिएको गाडा तानेर स्टिवका सबै ग्राहकसम्म लैजान्थे । जबदेखि स्टिवका गधा तिनका छाला काढ्नका लागि चोरिए उनले काम गर्न सकेनन् ।

अन्य मानिससरह स्टिवको पनि त्यस दिन दैनिकी सुरु भएको थियो । नैरोबीको बाह्य इलाकामा रहेको आफ्नो घरबाट निस्केर उनी आफ्ना पशुलाई लिन खेतमा गए । उनी त्यस दिनको घटना सम्झेर भन्छन्, “मैले त्यहाँ तिनलाई देखिनँ । दिनभरि, रातभरि र भोलिपल्ट पनि मैले यताउता खोजेँ तर फेला पारिनँ ।” तीन दिनपछि एक जना साथीले उनलाई फोन गरेर आफूले पशुका हाडखोर फेला पारेको जानकारी दिए । “तिनलाई मारिएको छ, वध गरिएको छ र तिनीहरूको छाला त्यहाँ थिएन ।” यसखालले गधाको चोरी अफ्रिकाका कैयौँ क्षेत्रमा तथा विश्वका अन्य भागमा आमहुँदै गएको छ । विशेष गरेर जहाँ यी कामकाजी गधाको सङ्ख्या धेरै छ त्यहाँ छालाका लागि गधाको चोरी हुने गर्दछ । स्टिव र उनका गधा गधाको छालाको विवादास्पद वैश्विक व्यापारमा एक अतिरिक्त क्षतिका रूपमा बुझ्न सकिन्छ । यसको उद्गम केन्याको त्यस इलाका भन्दा हजारौँ किलोमिटर टाढा छ । चीनमा गधाको छालामा हुने जिलेटिनबाट तयार पारिने परम्परागत औषधिको उच्च माग छ । त्यसलाई इचाओ भनिन्छ ।

इचाओमा स्वास्थ्यवर्धक र युवामय बनाइराख्ने गुण भएको विश्वास गरिन्छ । इचाओ बनाउन गधाको छालालाई उमालेर त्यसबाट जिलेटिन निकालिन्छ । जसबाट औषधिको धुलो, चक्की वा द्रव बनाउने वा खाद्यवस्तुमा मिसाउने गरिन्छ । गधाको छालाको विरुद्ध सक्रिय अभियन्ताले स्टिव जस्ता मानिस र तिनीहरू निर्भर गधा इचाओको परम्परागत घटकका लागि धान्न नसकिने मागको सिकार हुने गर्छन् । सन् २०१७ देखि गधाको व्यापारविरुद्ध अभियान चलाइरहेको ‘डङ्की स्याङ्च्युरी’ ले तयार पारेको एउटा नयाँ रिपोर्ट अनुसार छालाको आपूर्तिका लागि प्रत्येक वर्ष विश्वमा कम्तीमा ५९ लाख गधा मारिन्छन् । साथै यसको माग हरेक वर्ष बढ्दो छ । तथापि इचाओ उद्योगका लागि छाला आपूर्ति गर्न विश्वमा वध गरिने गधाको सङ्ख्या यकिन गर्न चाहिँ गाह्रो छ । विश्वमा भएका गधाको अनुमानित सङ्ख्या पाँच करोड ३० लाखको करिब एक तिहाइ भाग ओगट्ने अफ्रिकामा नियमनको पेच फसेको छ । गधाको छालाको निर्यात केही देशमा वैध छ भने अन्यमा अवैध छ तर गधाको छालाको उच्च माग र मूल्यले गधा चोरी कार्यमा मलजल पुगिरहेको छ ।

‘डङ्की स्याङ्च्युरी’ ले जानकारी दिए अनुसार त व्यापारले वैधता प्राप्त गरेको क्षेत्रमा पुग्न चोरले गधालाई अन्तर्राष्ट्रिय सीमासम्मसमेत लिएर जाने गर्छन् । तथापि चाँडै नै महत्वपूर्ण मोड आउने देखिन्छ किनभने अफ्रिकी राज्य सरकार तथा ब्राजिलको सरकारले गधाको घट्दो सङ्ख्याको जवाफमा गधाको वध र निर्यातमा प्रतिबन्ध लगाउने तयारीमा छन् । ‘डङ्की स्याङ्च्युरी’ का लागि कार्य गरिरहेका तथा नैरोबीमा बस्ने सोलोमन अनयाङ्गोले प्रतिक्रिया दिएका छन्, “हाम्रो अनुमान के छ भने सन् २०१६ देखि २०१९ बीचमा छालाको व्यापारका लागि आपूर्ति गर्न केन्याका आधा जति गधा मारिएका छन् ।” यी तिनै पशु हुन् जसले मानिस, मालवस्तु, पानी र खाद्यवस्तु बोक्ने गर्छन्– गरिब र ग्रामीण समुदायमा यी दिनचर्याको मेरुदण्ड हुन् । तसर्थ जुन परिमाण र गतिमा छालाको व्यापार बढिरहेको छ, त्यसले अभियन्ता र विशेषज्ञहरूलाई चिन्तित बनाएको छ । यसले केन्यामा छालाको व्यापार विरोधी प्रदर्शनमा सहभागी हुन मानिसलाई प्रेरित गरेको देखिन्छ ।

यसैले अफ्रिकाव्यापी, अनिश्चितकालीन प्रतिबन्धलाई अफ्रिकन युनियनको सम्मेलनमा हालै एजेन्डा बनाइयो । इथियोपियामा सम्पन्न सम्मेलनमा अफ्रिकन युनियनको सम्मेलनबाट अफ्रिकामा छालाको व्यापारका लागि गधाको वध गर्नमा प्रतिबन्ध लगाइएको छ । गधाको कल्याणका लागि सक्रिय संस्थाहरूले यस निर्णयको स्वागत गरेका छन् । यसबाट गधाको संरक्षणमा ठूलो टेवा पुग्ने आशामा छन् स्टिव किनभने यसरी नै गधाको वध हुँदै गयो भने मानिसको अर्को पुस्ताले गधा देख्ने छैन ।

तर अफ्रिका र ब्राजिलमा लगाइएको प्रतिबन्धले गधाको छालाको व्यापार अन्यत्र स्थानान्तर हुन सक्छ ।

इचाओका उत्पादकले पहिले चीनमा पाइने गधाको छाला प्रयोग गर्दथे तर त्यहाँको कृषि तथा ग्रामीण मामिला मन्त्रालयका अनुसार सन् १९९० मा त्यहाँ भएका एक करोड १० लाख गधाको सङ्ख्या घटेर सन् २०२१ मा मात्र लगभग २० लाख रहन गयो । साथै इचाओ एक विशिष्ट विलासिताको वस्तुबाट लोकप्रिय वस्तु भयो र चौतर्फी उपलब्ध हुन थाल्यो । चिनियाँ कम्पनीहरूले विदेशबाट गधाको छाला आपूर्तिको उपाय खोज्न थाले । अनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका केही भागमा गधा वधशाला स्थापित गरिए । यसबाट अफ्रिकामा छालाको व्यापारका लागि भयङ्कर प्रतिस्पर्धा सुरु भयो । इथियोपियामा गधाको मासुको उपभोग वर्जित छ । त्यहाँ जनविरोध र सञ्चार माध्यमको दबाबका कारण त्यहाँका दुवै गधा वधशाला सन् २०१७ मै बन्द गरिएका थिए । तान्जानिया र आइभरी कोस्टलगायतका देशले सन् २०२२ मा गधाको वध र छाला निर्यातमाथि प्रतिबन्ध लगाए तर चीनको छिमेकी देश पाकिस्तानले यो व्यापारलाई अङ्गीकार गरिराखेको छ । गधाको उत्कृष्ट नश्ल तयार पार्न सन् २०२३ मा पाकिस्तानले स्थापना गरेको पहिलो आधिकारिक गधा प्रजननशालाका बारेमा त्यहाँका सञ्चार माध्यममा निकै बढाइचढाइ गरियो ।

यो एक ठूलो मुनाफाको व्यापार हो । सिड्नी विश्वविद्यालयमा चीन–अफ्रिका सम्बन्धका विद्वान् प्राध्यापक लारेन योहान्सटनका अनुसार चीनमा इचाओको बजार सन् २०१३ को लगभग ३।२ अर्ब अमेरिकी डलरबाट बढेर सन् २०२० मा लगभग ७।८ अर्ब डलर पुगेको थियो । गधाको वधको विषय जनस्वास्थ्य अधिकारीहरू, पशु कल्याण अभियन्ताहरू तथा अन्तर्राष्ट्रिय अपराध अनुसन्धानकर्ताहरूसमेतको चासोको विषय भएको छ । अनुसन्धानबाट के पनि थाहा भएको छ भने गधाको छालालाई अन्य वन्यजन्तुका अवैध मालवस्तु तस्करी गर्न समेत उपयोग गरिन्छ । धेरैजसो मानिसको चिन्ता छ, गधाको छालाको व्यापारमाथि राष्ट्रियस्तरमा लगाइएको प्रतिबन्धले भूमिगत रूपमा यसको ओसारपसार मौलाउने छ । राज्य प्रमुखहरूका अगाडि यो मूलभूत प्रश्न छ स् के विकासशील अर्थव्यवस्थाका लागि गधाको मूल्य अधिक छ, चाहे त्यो मरेको होस् वा जीवित रु स्टिव भन्छन्, “मेरो समुदायका अधिकांश मानिस सानो स्तरमा किसान हुन् तथा उनीहरूले आफ्ना मालवस्तु बिक्री गर्न आफ्नो गधा उपयोग गर्छन् ।” उनले औषधि विज्ञान अध्ययन गर्नका लागि स्कुलको शुल्क तिर्न गधामा ओसारेको पानी बिक्रीबाट भएको आयबाट बचत गर्दथे ।

‘डङ्की स्याङ्च्युरी’ का मुख्य पशु चिकित्सक फेथ बर्डनको भनाइमा विश्वको अधिकांश क्षेत्रको ग्रामीण भेगमा गधा ‘पूर्णतया प्रकृति अनुरूप’ छ । गधा बलियो र अनुकूलनीय पशु हो । उनी भन्छन्, “पानी नपिएर पनि एउटा गधा करिब २४ घण्टा रहन सक्छ र बिनासमस्या चाँडै नै उसको शरीर पुनर्जलीय हुन सक्छ ।” तर अनेक गुण भए पनि गधाले सजिलै वा चाँडै प्रजनन गर्न सक्दैन । यस कारणले पनि अभियन्ताहरू चिन्तित छन् । चिन्ताको विषय छ स् यदि गधाको छालाको व्यापार वर्जित गरिएन भने गधाको सङ्ख्या निरन्तर घट्ने छ तथा गरिब मानिसको जीवन झनै दुष्कर हुने छ र गधाको साथसमेत हुने छैन । अनयाङ्गो भन्छन्, “हामीले यसरी सामूहिक वध हुने गरी आफ्ना गधा पालेका होइनौँ ।” योहान्सटनको भनाइमा गधाले शताब्दीयौँदेखि मानिसलाई बोक्दै आएका छन् । तिनीहरूले बालबालिका, महिलालाई बोके । उनी भन्छिन्, “जब कुनै पशुलाई लगिन्छ त्यसको सबैभन्दा बढी असर बालबालिका र महिलामा पर्छ । जसै गधा कसैले लैजान्छ मूलतः महिला फेरि गधा बन्छिन् ।”

तथ्यगत रूपमा तितो सत्य के छ भने मूल रूपमा धनाढ्य चिनियाँ महिलाका लागि इचाओको व्यापार भइरहेको छ । इचाओ हजारौँ वर्ष पुरानो औषधि हो तथा यसमा रगत शोधन हुनेदेखि निद्रा लाग्ने र प्रजनन क्षमता बढ्नेसहितका कैयौँ स्वास्थ्यवर्धक गुण भएको विश्वास गरिन्छ । सन् २०११ मा चिनियाँ टेलिभिजन कार्यक्रम ‘इम्पे्रसेस इन द प्यालेस’ प्रसारण गरिएको थियो । शाही दरबारको काल्पनिक कथामा आधारित यस कार्यक्रमले इचाओको आकर्षण झनै बढाइदियो । त्यस टेलिभिजन कार्यक्रममा इचाओको विषयवस्तु बारे टिप्पणी गर्दै योहान्सटन भन्छिन्, “चतुराइँपूर्वक उत्पादनको प्रचार गरियो । कार्यक्रममा अभिनय गरिरहेकी महिलाले सुन्दर र स्वस्थ रहन आफ्नो छाला र प्रजनन क्षमताका लागि दिनहुँ इचाओ खाने गर्छिन् । यसले यो कुलीन नारीत्वको उत्पादन बन्न गयो । विडम्बना के छ भने यसले अफ्रिकाका कैयौँ महिलाको जीवन नष्ट गरिरहेको छ ।”

२४ वर्षका स्टिव आफ्ना गधा गुमाएर चिन्तित छन्, आफ्नो जीवन र दिनचर्यामा उनको नियन्त्रण पनि गुमेको छ । उनी भन्छन्, “म अहिले एक्लो भएको छु ।” नैरोबीमा स्थानीय पशु कल्याण च्यारिटीका लागि काम गरिरहेको ‘च्यारिटी ब्रुक’ ले जीविका र शिक्षाका लागि गधा पालन गर्न खोज्ने स्टिव जस्ता युवाका लागि गधा खोज्ने काम गरिरहेको छ । ‘डङ्की स्याङ्च्युरी’ का जानख मक्सको भनाइमा जति धेरै देशले गधाको संरक्षणका लागि कनुन बनाउने छन् यो त्यति नै कठिन हुँदै जाने छ । मक्स भन्छन्, “विश्वले हेर्न चाहेको कुरा के हो भने इचाओ कम्पनीहरूले गधाको छाला आयात गर्न पूर्णतया बन्द गरून् र ‘सेल्युलर एग्रिकल्चर’ जस्तो दीर्घकालिक विकल्पमा लगानी बढाऊन्, जसबाट प्रयोगशालामै कोलेजन उत्पादन गर्न सकियोस् ।” यस्तो विकल्पका लागि विश्वमा कैयौँ सुरक्षित र प्रभावकारी विधि उपलब्ध छन् ।

ताजा समाचार

छत्तिसगढ भिडन्तमा मारिने नक्सलवादीकाे संख्या १८ नाघ्याे

छत्तीसगढ, ५ बैशाख । छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा बल र नक्सलवादीबीच भीषण भिडन्त भएको...

आज रामनवमी पर्व मनाइँदै

काठमाडौँ । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो...

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक...

हवाई टिकटमा भ्याट हटाउन माग

काठमाडौं । हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० हटाउनुपर्ने निजी क्षेत्रले माग...