कोशीटप्पुबाट भाले गैँडा ‘मेघौली’ चितवन फिर्ता

Published on

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता लगिएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली बिरामी भएपछि पुन चितवन फिर्ता गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेश यादवले जानकारी दिनुभयो ।

प्रमुख यादवका अनुसार मेघौली कोशी टप्पु आएदेखि नै राम्ररी खाना नखाने र स्वास्थ्यमा समस्या आएपछि उपचार गर्न चितवन पठाइएको हो । कोशी टप्पुमा मेघौलीको उपचार सम्भव नभएपछि उपचारका लागि चितवनबाट स्वास्थ्यकर्मी, प्राविधिकहरुको टोली ट्रक लिएर कोशी टप्पु आएको थियो । मेघौलीलाई बुधवार ट्रकमा राखेर स्वास्थ्यकर्मीसहित चितवन लगिएको छ । चितवनबाट खोरमा राखे कोशी टप्पु स्थानान्तरण गर्दा भाले गैँडा मेघौलीलाई शरीरका केही भागमा चोट लागेको थियो । वन्यजन्तुको अस्पताल चितवनको सौराहामा रहेकाले उपचारमा सहज हुने भएपछि फिर्ता गरिएको छ । उपचारका लागि चितवन लगिएको मेघौली डाक्टरको पेस्क्रिप्सनपछि मात्रै कोशी टप्पु ल्याइने प्रमुख यादवले बताउनु भयो ।

चितवनबाटै ल्याइएको पोथी गैँडा पुष्पा र अञ्जलीसँग राख्न चितवनको सौराहाबाटै चैत्र १० गते मेघौलीलाई ल्याइएको थियो । मेघौली भाले गैँडालाई वन तथा वातावरण मन्त्री माननीय नवलकिशोर शाह सुडीले स्वागत गरेर कोशीटप्पु वन्यजन्तु आरक्षलाई हस्तान्तरण गर्नुभएको थियो । मान्छेको सामीप्यमा हुर्किएको मेघौली कोशी टप्पुको वातावरणमा घुलमिल हुन नसक्दा खोरै भत्काएर बाहिर निक्लिने गरेको मेघौलीको मुखमा समेत घाउ भएको थियो । यसअघि असोज १० मा चितवन राष्ट्रिय निकुञ्जबाटै पुष्पा र अञ्जली नाम गरेका दुई ओटा पोथी गैँडालाई आरक्षमा ल्याइएको थियो । जैविक विविधता संरक्षण केन्द्रमै हुर्किएका पुष्पा र अञ्जली दुई ओटा पोथी गैँडा मात्रै भएपछि कोशी टप्पुमा वंश विस्तार गर्न विरु अर्थात् भाले मेघौलीलाई कोशी टप्पुमा ल्याइएको थियो ।

प्राविधिकको विस्तृत अध्ययन र मन्त्रालयको निर्णयअनुसार भाले गैँडा मेघौलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको थियो । छ महिनाअघि ल्याइएको चार की पुष्पा र अडाइ वर्षकी अञ्जली कोशी टप्पुमा सधाएपछि मेघौलीलाई पनि कोशी टप्पुमा सारिएको थियो । अर्ना (जङ्गली भैँसी) र चराको लागि प्रख्यात रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा पुष्पा र अञ्जलीको आगमनपछि गैँडाको वंश विस्तार गर्न मेघौलीलाई ल्याइए पनि स्वास्थ्य अवस्थाको कारण फिर्ता लगिएपछि अब आरक्षमा पुष्पा र अञ्जली मात्रै रहेका छन् । फिर्ता गरिएको गैँडा छ वर्षअघि पश्चिमी चितवनको मेघौली क्षेत्रमा फेला परेकाले गैँडाको नाम नै मेघौली राखिएको थियो । मेघौली क्षेत्रबाट सौराहा ल्याइएको भाले गैँडालाई राष्ट्रिय प्राकृतिक संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रको संरक्षणमा पाउडर दुध खुवाएर मान्छेकै पेरिफेरिमा हुर्काइएको थियो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...