काठमाडौं । विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुर (बेङ्गाल फ्लोरिकन) को शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खोजी तथा अनुगमन सुरु भएको छ । खरमजुरको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्य अनुरूप अनुगमन थालिएको हो ।
‘स्विप’ र ‘क्यामरा ट्र्याप’ विधिमार्फत खरमजुरको अनुगमन भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जका सूचना अधिकारी मनोज ऐरले यसअघि खरमजुर देखिएको शुक्लाफाँटा, करैयाफाँटा, मोहनपुरफाँटा र मध्यवर्ती सामुदायिक वनमा खरमजुरको अनुगमन गरिने जानकारी दिनुभयो । “यहाँको चार वटा घाँसे मैदानमा चैत १४, १५, १८, १९, २२ र २३ गते गरी छ दिन लगातार खरमजुरको अनुगमन गरिने छ, त्यसका लागि छ ब्लक बनाएका छौँ,” उहाँले भन्नुभयो, “यस पटक विभिन्न तथ्य तथ्याङ्कको अध्ययन अनुसन्धान हुने गरी विस्तृत रूपमा अनुगमन गर्ने योजना छ ।” शुक्लाफाँटा निकुञ्जको संयोजकत्वमा नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेनाको टोलीले अनुगमन गरिरहेको छ । वसन्त ऋतु खरमजुरको प्रजनन सिजन भएको बताइन्छ ।
यसबेला पोथीलाई प्रजननका लागि आकर्षित गर्न भाले खरमजुर घाँसे मैदानमा २०–३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइएको छ । यसबेला भाले खरमजुर नाच्ने गरेकाले अनुगमन गर्न सजिलो हुने अपेक्षा गरिएको छ । यस पटक स्विप विधि अन्तर्गत ५०र५० मिटरको दुरीमा अनुगमनकर्ता घाँसे मैदानमा हिँड्ने र फेला परेका खरमजुरको तथ्याङ्क राखिने जनाइएको छ । घाँसे मैदानको फायर लाइन र वन्यजन्तु हिँड्ने बाटोमा पाँचरपाँच सय मिटरको ग्रिड बनाएर क्यामरा राखेर पनि अनुगमन गरिने छ । यसरी दुवै विधिबाट खरमजुरका भालेपोथी छुट्याउने, घाँसे मैदानको अवस्था, उचाइ, घाँसे मैदानमा आगलागी, त्यहाँ अन्य वन्यजन्तुको ओहोरदोहोरलगायतका विविध विषयमा अध्ययन गरिने ऐरले बताउनुभयो ।
यसअघि सन् २०१४ मा नेपाल–भारत दुई देशका विज्ञले शुक्लाफाँटामा खरमजुरबारे जिपिएस ट्र्याकिङमार्फत अध्ययन गरेका थिए । त्यस अध्ययनले बर्खायाममा खरमजुर शुक्लाफाँटाबाट निस्केर बेल्डाँडी र पुनर्बासको खेतमा बस्ने तथ्य फेला पारेको थियो । अन्य समयमा भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नै खरमजुर बस्ने गरेको पाइएको छ । सन् २०२१, २०२२ र २०२३ मा पनि शुक्लाफाँटाको चार वटा घाँसे मैदानमा नै खरमजुर फेला परेको अभिलेख छ । अनुगमनका क्रममा २०२१ मा सात वटा र २०२३ मा पाँच वटा खरमजुर भेटिएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । गोरखापत्र